गृहपृष्ठ ‘संवेदनशील बेलामा प्रधानमन्त्रीको बदनाम गराउन सुनियोजित षड्यन्त्र’

‘संवेदनशील बेलामा प्रधानमन्त्रीको बदनाम गराउन सुनियोजित षड्यन्त्र’

प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा स्वीस बैंकमा रकम नरहेको उनको सचिवालयले स्पष्ट गरेको छ । ग्लोबल वाच एनालाइसिसलाई उद्धृत गर्दै केही नेपाली अनलाइनले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न झुटो समाचार सम्प्रेषण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

‘तथ्यहीन सामग्रीलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीलाई बदनाम गर्न उद्यत यस्ता कतिपय सञ्चारमाध्यमको रवैया खेदजनक रहेको,’ थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीले राष्ट्रको नेतृत्व सम्हालिरहनुभएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षड्यन्त्र गर्ने अनेकन तत्वहरू सक्रिय रहेको प्रष्ट नै छ ।’

विज्ञप्तिमा आम नेपालीलाई त्यस्ता कुनै पनि दुष्प्रचारको भ्रममा नपर्न आह्वान गर्दै सम्बन्धित निकायले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरीत कार्यमा संलग्न व्यक्ति र संस्थामाथि कडा कारवाहीको पनि माग गरिएको छ ।

प्रकाशित समय ११:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु