गृहपृष्ठ थुनुवाको मृत्यु प्रकरण : इन्स्पेक्टरसहित ३ प्रहरी ६ महिनाका लागि निलम्बनमा
थुनुवाको मृत्यु प्रकरण : इन्स्पेक्टरसहित ३ प्रहरी ६ महिनाका लागि निलम्बनमा
इलाका प्रहरी कार्यालयमा स्थानीयको विरोध ।
इलाका प्रहरी कार्यालय गरूडाको हिरासतमा एकजना थुनुवाको रहस्यमय मृत्यु भएपछि प्रदेश प्रहरी कार्यालयले इन्स्पेक्टरसहित तीन जना प्रहरीलाई निलम्बन गरेको छ । उनीहरूलाई ६ महिनाका लागि निलम्बन गरिएको हो ।
इन्स्पेक्टर नवीनकुमार सिंह तथा हवल्दारद्वय मुन्ना सिंह र फिरोज मियालाई निलम्बन गरिएको डीआईजी धिरजकुमार सिंहले जानकारी दिए । अभियुक्तलाई हिरासतमा यातना दिएको पाइएपछि उनीहरू निलम्बनमा परेका हुन् ।
हत्या आरोपमा पक्राउ परेका रौतहटको गरुणाका विजय रामको भदौ ११ गते उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा संलग्नता स्वीकार गराउन प्रहरीले बल प्रयोग गर्दा गम्भीर भई रामको ज्यान गएको स्थानीयको आरोप छ । साउन ३१ गते भएको निरन्जन रामको हत्या आरोपमा विजयसहित ७ जना पक्राउ परेका थिए ।
गरूडाका तत्कालीन डीएसपी ज्ञानकुमार महतोलाई प्रदेश २ प्रहरी कार्यालयमा तानेर छानविन थालिएको थियो । हाल उनको ठाउँमा डीएसपी नरेन्द्र कुँवरलाई पठाइएको छ ।
प्रकाशित समय १७:५० बजे

















