गृहपृष्ठ असई मृत भेटिएको ठाउँमा सशस्त्र प्रहरी जवानको पनि शव भेटिएको थियो
असई मृत भेटिएको ठाउँमा सशस्त्र प्रहरी जवानको पनि शव भेटिएको थियो
धनगढी उप–महानगरपालिका १० जुगेडामा प्रहरी सहायक निरीक्षक गोविन्द विकको हत्या भएको क्षेत्रमा सशस्त्र प्रहरी पनि डेढ महिना अघि मृत भेटिएको तथ्य फेला परेको छ ।
धनगढी उप–महानगरपालिका १२ को अस्थायी प्रहरी विट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विकको हत्या गरेको अवस्थामा मृत फेला परेकै क्षेत्रमा कार्यरत सशस्त्र प्रहरी जवान कुमार सारुमगर मृत भेटिएका थिए ।
सशस्त्र प्रहरीे बर्डर आउट पोस्ट जुगेडामा कार्यरत सारुमगर असोज ९ गते डिउटीमै रहेका बेला वेपत्ता भएका थिए । ९ गते बेपत्ता मगर असोज १० गते दिउँसो उप–महानगरपालिका १४ फूलबारीस्थित खुटिया नदीमा मृत भेटिएका थिए ।
नदीमा डुबेको अवस्थामा मृत भेटिएका मगरको हत्या वा आत्महत्याबारे कुनै खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कैलालीले भने सशस्त्र प्रहरी जवान मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको दाबी गरिरहेको छ ।
जुगेडा क्षेत्र चोरी तस्करीको ट्रान्जिट प्वाइन्ट भएकाले सशस्त्र प्रहरी जवानको पनि तस्करहरुले नै हत्या गरेको आशंका गरिएको छ ।
विकको परिवार शोकमा
ड्युटीकै क्रममा अज्ञात समूहद्वारा हत्या गरिएका कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी विट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विकको परिवार शोकमा डुवेको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका ९ खगाउँका मृतक विकका परिवारले अविभावक नै गुमाएका हुन् । सामान्य परिवारमा जन्मेका गोविन्दका एक÷एक जना दाजुभाइ थिए । उनी माइलो भाइ हुन् । घरको सबै जिम्मेवारी हेर्ने गोविन्द ड्युटीमै मारिएपछि अनाथ जस्तै भएको विकका भतिजा हरी विक पीडा पोखे ।
भूमिहिन विपन्न परिवारको अभिभावक रहेको असई विकले १२ जना परिवारको लालनपालन गर्दै आएका थिए । उनको श्रीमतीसहित साढे २ र अर्को ६ वर्षीया छोरी छन् । प्रहरी सेवामा ३ वर्ष मात्रै बिताएका बिक २ महिना पहिले सुर्खेत जिल्लामा कार्यरत थिए ।
सत्य तथ्य नआउँदासम्म शव नबुझ्ने
ड्युटीकै क्रममा अज्ञात समूहद्वारा हत्या गरिएपछि विकका आफन्तले घटनाबारे सत्थतथ्य सार्वजनिक गर्न माग गरेका छन् । उनीहरुले घटनाबारे सत्यतथ्य नआएसम्म शव नबुझ्ने बताएका छन् । साथै विक परिवारको लालनपालनको जिम्मा राज्यले लिनुपर्ने पुनर्वास नगरपालिका ९ का वडाध्यक्ष नारायणप्रसाद जैशीले बताए ।
प्रकाशित समय २०:०७ बजे

















