गृहपृष्ठ प्रहरीको गोली लागेर गम्भीर घाइते भएका न्यौपानेको निधन

प्रहरीको गोली लागेर गम्भीर घाइते भएका न्यौपानेको निधन

बर्दिबासमा प्रहरीको गोली लागेर गम्भीर घाइते संजय भनेर चिनिने बुद्धिराज न्यौपानेको उपचारको क्रममा निधन भएको छ । प्रहरीको गोली लागेर गम्भीर घाइते न्यौपानेको हेलिकप्टरबाट काठमाडौंस्थित ग्राण्डी हस्पिटलमा लगिएको थियो ।

ग्राण्डी हस्पिटलमा उपचारकै क्रममा गएराति १ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । प्रहरीले बालिकाको शवसहित राजमार्ग अवरुद्ध गरेर बसेका आक्रोशित स्थानीय बासिन्दाहरुको भिड नियन्त्रण गर्न बल प्रयोगको साथै गोली चलाएको थियो ।

के थियो घटना ?
आइतबार हराएकी बर्दिबास शुभम् चोक बस्ने ६ वर्षीया बालिका गुलाब साह खातुनको सोमबार राति शव फेला परेको थियो । शव फेला परेसँगै बन्धक बनाएर बलात्कारपछि हत्या गरेको आरोपमा किराना पसलका सञ्चालक २५ वर्षीय अरुण साह पक्राउ परे ।

मंगलबार बर्दिबास चोकमा बालिकाको शव राखेर स्थानीयले महेन्द्र राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । भिडभाड नियन्त्रण गर्न दर्जनौं हवाई फायरसहित भीडमा गोली चलाएको थियो । प्रहरीको गोली लागेर संजय भनिने बुद्धिराज न्यौपाने, श्याम कार्की र अफताब आलम घाइते भए ।

घाइतेमध्ये न्यौपानेको गएराति उपचारका क्रममा ज्यान गएको छ भने श्याम कार्कीको काठमाडौंमा उपचार भइरहेको छ । त्यस्तै गोलीको छर्रा लागेका अफताब आलमको बर्दिबासमै उपचार भइरहेको प्रहरीले जनाएको छ । बालिकाको शव प्रहरीले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा मंगलबार साँझ ल्याइएको छ ।

प्रकाशित समय ०८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु