गृहपृष्ठ एसपी नरेन्द्र उप्रेतीको राजीनामा स्वीकृत
एसपी नरेन्द्र उप्रेतीको राजीनामा स्वीकृत
बढुवामा आफ्नो नाम नपरेको भन्दै राजीनमा दिएका एसपी नरेन्द्र उप्रेतीको राजीनामा स्वीकृत भएको छ । गृह मन्त्रालयले एसपी उप्रेतीको राजीनामा स्वीकृत गरेको हो । उप्रेतीले आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा राजीनामा बुझाएका थिए । उप्रेती बढुवामा सिफारिस भएका थिएनन् । आफूभन्दा कनिष्ठलाई सिफारिस गरी आफ्नो नाम सिफारिस नभएको भन्दै उनले राजीनामा दिएका थिए । प्रहरी प्रधान कार्यालयले राजीनामा गृह मन्त्रालयमा पठाएको थियो ।
गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले गत शनिबार १४ जना एसपीलाई एसएसपीमा बढुवाको सिफारिस सूची प्रकाशित गरेको थियो । बढुवामा सिफारिस हुनेमा श्यामलाल ज्ञवाली, डा. गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर र भीमप्रसाद ढकाल थिए । एसएसपीमा बढुवा भएका भीम ढकाल, दीपक थापा, टेकबहादुर तामाङ उप्रेतीभन्दा जुनियर हुन् । एसपी उप्रेती महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यरत थिए ।
सरकारले प्रहरी नियमावली २०७१ को नियम २८ को उपनियम १ (क) संशोधन गरेर तीन वर्षमा नै एसएसपीमा बढुवा हुने बाटो खोलेको थियो । नियमावली संशोधन हुन नसक्दा विगत चार महिनादेखि १४ जना एसएसपी दरबन्दी खाली रहेको थियो । प्रथम श्रेणी तहको बढुवाको लागि चार वर्ष काम गरेको हुनुपर्ने नियम थियो । संशोधनपछि भने तीन वर्षमा नै बढुवा हुन पाउने भएका हुन् ।
प्रकाशित समय १३:०१ बजे

















