गृहपृष्ठ डा. केसीले भने- संहिताले बिरामीलाई दुःख हुन्छ

डा. केसीले भने- संहिताले बिरामीलाई दुःख हुन्छ

तस्वीर सुनिल प्रधान

डा. गोविन्द केसीले मुलुकी अपराध संहितामा भएको व्यवस्थाका कारण बिरामीले नै दुःख पाउने टिप्पणी गरेका छन् । नेपाल चिकित्सक संघले आइतबार गरेको र्यालीपछिको कोणसभामा डा. केसीले संहितामा भएको व्यवस्थाका कारण डाक्टरहरु जोखिम लिन नचाहने भएकाले त्यसको प्रत्यक्ष मारमा बिरामी पर्ने उल्लेख गरे ।

उक्त कानुनले चिकित्सकहरुलाई प्रतिरक्षात्मक बनाउने भएकाले अन्यत्र ‘रिफर’ गर्ने र त्यसको मारमा बिरामी पर्ने उनको जिकिर थियो । सोही कारण संहिता फिर्ता लिनुपर्ने उनले बताए ।

आफूले चिकित्सक र स्वास्थ्यकर्मी जवाफदेही हुनु पर्दैन भनेर नभनेको उल्लेख गर्दै डा. केसीले तर संहिताले बिरामीलाईनै बाधा पुर्याउने बताए । ‘अहिले जसरी कानुन थोपरिएको छ,’ डा. केसीले भने, ‘यसले चिकित्सक र स्वास्थ्यकर्मीभन्दा बिरामीलाई नै बाधा पुर्याउने छ ।’

संहितामा भएको व्यवस्थाप्रति असहमति जनाउदै नेपाल चिकित्सक संघले नेपाल मेडिकल काउन्सिललाई लाइसेन्स फिर्ता गर्ने कार्यक्रम बनाएको छ । सोही कार्यक्रम अनुसार चिकित्सकहरुको लाइसेन्स फिर्ता गर्ने जनाइएको छ । संघले संहिताप्रति असहमति जनाउदै आइतबार आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । यसरी लाइसेन्स काउन्सिललाई फिर्ता गरेपछि चिकित्सकहरुले उपचार गराउन पाउने छैनन् ।

प्रकाशित समय १४:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु