गृहपृष्ठ कर्णालीमा ११४ जनामा कुष्ठरोग
कर्णालीमा ११४ जनामा कुष्ठरोग
कर्णाली प्रदेशमा ११४ जनामा कुष्ठरोग देखापरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा प्रदेशका १० जिल्लामा कुष्ठरोगी फेला परेका हुन् ।
कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था आइएनएफका अनुसार सबैभन्दा बढी बिरामीको संख्या सुर्खेतमा देखिएको छ । सुर्खेतमा एक वर्षको अवधिमा थप २६ कुष्ठरोगी फेला परेका छन् । तथ्यांकअनुसार जाजरकोटमा २०, दैलेखमा १०, कालिकोट र रुकुममा नौ–नौ, जुम्ला, मुगु र सल्यानमा तीन–तीन तथा हुम्लामा एक जनामा कुष्ठरोग देखिएको छ ।
सरकारले सन् २०२० सम्ममा नेपाललाई कुष्ठरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । बिरामी वर्षेनी बढ्दै जाँदा यसमा चुनौती देखिएको छ । आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालका निर्देशक मंगल चौधरीका अनुसार नेपालमा वर्षेनी तीन हजारभन्दा बढी कुष्ठरोगका बिरामी फेला पर्ने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार सो क्रम बढ्दो मात्रामा छ ।
साइनिङ अस्पतालमा साउनयता १० कुष्ठरोगका बिरामी उपचारका लागि पुगेका छन् । गत वर्ष ६० कुष्ठरोगी उपचारका लागि अस्पताल पुगेका थिए । अस्पतालले अहिलेसम्म १० हजार ८०० कुष्ठरोगीको उपचार गरिसकेको चौधरीले जानकारी दिए । गत वर्ष १४६ कुष्ठरोगी भर्ना भएका थिए ।(रासस)
प्रकाशित समय १०:०८ बजे















