गृहपृष्ठ पाँच पटकभन्दा बढी मापसे गरी सवारी चलाउने ४ सय २३ जनाको लाइसेन्स खारेज

पाँच पटकभन्दा बढी मापसे गरी सवारी चलाउने ४ सय २३ जनाको लाइसेन्स खारेज

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४ सय २३ चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ ।

महाशाखाले पटक–पटक मापसे सेवन गरेर सवारीसाधन चलाएपछि लाइसेन्समा प्वाल पार्दै आएको थियो । महाशाखाले २०६९ मङ्सिर २२ गतेदेखि मापसे गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्न थालेको हो । हालसम्म विभिन्न चरणमा गरी एक लाख ७८ हजार १९८ चालकको लाइसेन्समा प्वाल पारिएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए ।

पहिलोपटक एक लाख ३७ हजार ९५२, दोस्रो पटक २६ हजार ७२७, तेस्रो पटक आठ हजार ८४०, चौथो पटक तीन हजार १२३ र पाँचौ पटक एक हजार १३३ चालकको लाइसेन्समा प्वाल पारिएको थियो । ‘खारेज गरिएका सवारी चालकले पुनः परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ,’ पन्तले भने, ‘दुर्घटना घटाउन र मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको अभिलेख राख्नका लागि उक्त व्यवस्था गरेका हौँ ।’

आर्थिक वर्ष २०७०–७१ मा ५२, २०७१–७२ मा १ सय २२, २०७२–७३ मा १ सय ३३, २०७३–७४ मा ४१, २०७४–७५ मा ५८ र चालू आर्थिक वर्षमा १७ चालकको लाइसेन्स खारेज गरिएको हो । २०६८ मङ्सिर १७ देखि मापसे जाँच अभियान थालिएको हो ।(रासस)

प्रकाशित समय १०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु