गृहपृष्ठ ट्याक्सी चाहियो ? इजीट्याक्सी एपबाट बोलाउनुस्
ट्याक्सी चाहियो ? इजीट्याक्सी एपबाट बोलाउनुस्
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले पछिल्लो दिनमा प्रविधिको बढ्दो प्रयोगलाई अंगिकार गर्दै मोबाइल एप्समा आधारित सेवा दिने भएको छ । उपत्यकाका ५ हजारभन्दा बढी स्वरोजगार ट्याक्सी चालकहरुको समाजले आफ्ना यात्रुहरुलाई प्रविधिमा आधारित हुँदै ट्याक्सी सेवा शुरु गर्न लागेको हो ।
समाजले मोबाइल एप्स इजीट्याक्सी नेपालमार्फत वैशाख दोस्रो सातादेखि परिक्षणको रुपमा एप्सबाट ट्याक्सी सेवा दिन लागेको हो ।
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले सरकारी भाडा दरमै सेवा दिने तयारी गरेको जनाएको छ । समाजले ट्याक्सी भाडा समायोजन भएपछि कायम हुने नयाँ दरमा एप्सबाट सेवा दिने उल्लेख गरेको छ ।
पहिलो चरणमा यो सेवा काठमाडौं उपत्यकामा मात्र संचालन गरिने छ । इजी ट्याक्सी नेपाल एप्सको सेवाका लागि यात्रुले एप्स डाउनलोड गरेर आफूलाई दर्ता गर्नुपर्ने छ । यसको लागि कस्टमर लगइन रजिस्टर बनाईएको छ । यात्रुले लगइन गरेपछि त्यसमा देखिने रियलटाइम म्यापमा आफू बसेको स्थानदेखि जाने गन्तव्य छनौट गर्नुपर्दछ ।
यात्रुले एप्समा गरेको अनुरोधको आधारमा त्यस क्षेत्रमा नजिक भएका ट्याक्सी चालकहरुले सोहि एप्समार्फत ग्राहकको अनुरोधलाई स्विकार गर्नेछन् । र, त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा गएर सेवा दिनेछन् ।
इजीट्याक्सीनेपाल एप्समार्फत यात्रुले लगइन गरेर अनुरोध गरेको ५ मिनेटभित्रै यात्रुले ट्याक्सी सेवा प्राप्त गर्ने समाजको दावी छ ।
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वछानेले सफ्टवेयर कम्पनीको सहयोगमा तयार पारिएको एप्सबाट यात्रुले अनुरोध गरेपछि ट्याक्सीले यात्रु भएकै स्थानमा ५ मिनेटमै पुगेर सेवा दिने उनले स्पष्ट पारे ।
अहिले यात्रुले एप्समा लगइन गरेर यात्रा गर्दा नगदमै भुक्तानी गर्न सक्नेछन् । छिटै डिजिटल वालेटमार्फत पनि भाडा भुक्तानी गर्न सक्ने सुविधा थप्ने समाजले जनाएको छ ।
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पूर्णलाल मोक्तान (तामाङ) ले काठमाडौंको ट्याक्सी सेवालाई भरपर्दो, यात्रुमैत्री र प्रविधियुक्त बनाएर नयाँ ढंगले अगाडि जाने योजनासाथ एप्सको विकास गरेको बताए ।
इजीट्याक्सीनेपाल एप्समा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका सबै सदस्य चालकहरु दर्ता हुनेछन् । यात्रुले दिउँसो र राती दुबै सिफ्टमा सेवा प्राप्त गर्नेछन् । त्यसैगरि एप्समा आबद्ध भएका चालक र सेवा लिने यात्रु दुबैको ५ लाख रुपैयाँको बीमा गरिएको छ ।
प्रकाशित समय १८:४६ बजे

















