गृहपृष्ठ क्यान इन्फोटेकको पाँचौं दिन अवलोकनकर्ताको घुइँचो, भोलि सकिँदै

क्यान इन्फोटेकको पाँचौं दिन अवलोकनकर्ताको घुइँचो, भोलि सकिँदै

राजधानीमा जारी ‘प्रभु पे क्यान इन्फोटेक २०२०’ को पाँचौं दिन अवलोकनकर्ताको घुइँचो लागेको छ । बुधबारसम्म चल्ने प्रदर्शनीमा सूचना प्रविधि क्षेत्रका विश्व स्तरीय ब्रान्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवा, सेक्युरिटी, अनलाइन पेमेन्ट, ई–कमर्स, अनलाइन लर्निङ सफ्टवेयरलगायतसँग सम्बन्धित स्टलमा अवलोकनकर्ताको विशेष चासो देखिएको छ ।

त्यस्तै युवा उद्यमी एवं विद्यार्थीले विकास गरेका नवीनतम प्रविधिले पनि अवलोकनकर्ताको ध्यान तानेको छ । अन्य दिनमा कम अवलोकनकर्ता देखिने स्टलमा पनि मंगलबार घुइँचो थियो ।

इन्फोटेककै दौरान स्टार्टअप आइडिया तथा प्रोजेक्ट प्रतिस्पर्धा र जुनियर इन्नोभेटरको प्रदर्शनीसमेत गरिएको छ । सोमबारदेखि रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेस जस्ता प्रतिस्पर्धा सञ्चालन भइरहेको क्यान महासंघका महासचिव नारायण थापाले जानकारी दिए । त्यस्तै ई–स्पोर्टस च्याम्पियनसिपअन्तर्गत मंगलबार डोटा टु तथा सीएस गो खेलको सेमिफाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । बुधबार उत्कृष्ट दुई टोलीबीच फाइनलमा भिडन्त हुनेछ ।

इन्फोटेकको विशिष्ट व्यक्तिहरूले पनि अवलोकन गरिरहेका छन् । मंगलबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, नेपाल कम्युनिस्ट पार्टी नेकपाका राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्मा, पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश साह, मिस नेपाल २०१० सदीक्षा श्रेष्ठलगायतले मेला अवलोकन गरेका छन् ।

कुल १७५ स्टल रहेको क्यान इन्फोटेकमा सहभागी कम्पनीले आफ्ना वस्तु तथा सेवाको प्रवर्धनका साथै आकर्षक छुट र अफर दिइरहेका छन् । ब्रान्डिङ कम्पनीका स्टल मुख्य हलभित्र रहेका कक्षबाट तथा साना कम्पनी ट्रसमा रहेका स्टलमार्फत सुपथ मूल्यमा वस्तु तथा सेवाको बिक्री गरिरहेका छन् । प्रदर्शनीस्थलमै कम्पनीहरुले डिलर छनोट गर्ने र बिजनेस डिल गर्ने कार्य पनि गरिरहेका छन् ।

क्यान महासंघका अध्यक्ष नवराज कुँवरले यसपटक अवलोनकर्ताको अनावश्यक घुइँचोभन्दा सूचना प्रविधि बुझेका वा उत्सुक अवलोकनकर्ता आएको बताए । उनले प्रदर्शनीस्थलमा प्रविधिमैत्री व्यवस्थापन गरिएको र धुलो, धुँवा एवं अनावश्यक होहल्ला कम गरिएको जानकारी दिए ।

प्रकाशित समय २०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु