गृहपृष्ठ फास्ट इन्टरनेट सेवा प्रदान गर्न डेटा सेन्टर विस्तार गर्दै क्लासिक टेक
फास्ट इन्टरनेट सेवा प्रदान गर्न डेटा सेन्टर विस्तार गर्दै क्लासिक टेक
इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेक प्रालिले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट प्रदान गर्ने योजनाका साथ डेटा सेन्टर विस्तार गरेको छ । कम्पनीले विराटनगरको महेन्द्रचोकमा स्थापना गरेको नयाँ डेटा सेन्टर सञ्चालनमा ल्याएको हो ।
यसअघि काठमाडौंको बानेश्वरमा मात्र सीमित रहेकोमा कम्पनीले पहिलो पटक डेटा सेन्टर उपत्यकाबाहिर विस्तार गरेको छ । चाँडै बुटवलमा समेत डेटा सेन्टर स्थापना गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । इन्टरनेट प्रयोगकर्तालाई सहज र उच्च गतिको इन्टरनेट उपलब्ध गराउन कम्पनी डेटा सेन्टर विस्तारमा जुटेको हो । कम्पनीका अनुसार विराटनगरमा स्थापना गरिएको डेटा सेन्टरबाट पूर्वक्षेत्रका इन्टरनेट प्रयोगकर्ता लाभान्वित हुनेछन् ।
उक्त स्थानमा सञ्चालनमा आएको डेटा सेन्टरमा फेसबुक, युट्युब, गुगल, इन्स्टाग्राम, ह्वाट्सएप, नेटफ्लिक्स र अकामाईको क्यास सर्भर राखिएको छ । डेटा सेन्टरमार्फत् इन्टरनेट सेवा प्रदान गर्न एक सय जीबीपीए प्रतिसेकेन्डको ब्याकबोन नेटवर्क जडान गरिएको छ । कम्पनीले हाल विराटनगर, वीरगन्ज र भैरहवा नाकाबाट इन्टरनेटका लागि अन्तर्राष्ट्रिय ब्यान्डविथ भित्र्याइरहेको छ ।
कम्पनीकाअनुसार विराटनगरको डेटा सेन्टरबाट प्रयोगकर्तालाई लोकल ट्राफिक प्रदान गरिनेछ । ग्राहकको मागअनुसार गुणस्तरीय सेवा प्रदान गर्नका लागि आवश्यक पर्ने नेटवर्क विस्तार गर्न नजिकै रहेको डेटा सेन्टरमा ‘पेयरिङ’ गरिएको छ । जसले गर्दा इन्टरनेट सस्तो, गुणस्तरीय र उच्च गतिको हुने कम्पनीको दाबी छ । उक्त डेटा सेन्टरको मर्मत र निगरानीका लागि अनुभवी नेटवर्क तथा स्टिम इन्जिनियर चौबिसै घण्टा कार्यरत रहने कम्पनीले जनाएको छ । साथै, विद्युतको नियमित आपूर्तिका लागि ब्याकअप सिस्टमसमेत राखिएको छ ।
प्रकाशित समय १७:४६ बजे

















