गृहपृष्ठ नेपाल टेलिकमद्वारा आइपी टीभीको शुभारम्भ

नेपाल टेलिकमद्वारा आइपी टीभीको शुभारम्भ

एनटी टीभी ब्राण्डमा एफटीटीएचमार्फत सेवा लिन सकिने

नेपाल टेलिकमले आज एनटी टीभी ब्राण्डमा एफटीटीएचमार्फत आइपी टीभी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएपश्चात् ट्रिपल प्लेको अवधारणा कार्यान्वयनमा सफलता प्राप्त गरेको टेलिकमले जनाएको छ ।

कम्पनीको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले एनटी टीभी सेवाको शुभारम्भ गरे । सो अवसरमा उनले नेपाल टेलिकमले अत्याधुनिक सेवाका रुपमा एउटै तारबाट भ्वाइस, इन्टरनेट र टेलिभिजन सेवासमेत उपलब्ध गराउन लागेकोमा निकै उत्साहित भएको बताउँदै दिगो र भरपर्दो सेवाका लागि योजना बनाएर खटिन निर्देशन दिए । यस्ता सेवालाई देशव्यापी बनाई सबै जनतासमक्ष पुर्‍याई कम्पनीलाई प्रतिस्पर्धामा अब्बल सावित गराउनु कम्पनीको दायित्व भएको बताए ।

यसैगरी सञ्चार मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले जनतामा अत्यधिक माग भएको एउटै फाइबरबाट तीनथरी सेवाहरु उपलब्ध हुने एफटीटीएच सेवालाई मुलुकभर विस्तार गर्नुका साथै सेवाको मर्मत र निरन्तरतामा ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हालसम्म मुलुकका ३९ वटा जिल्लामा एफटीटीएच सेवा विस्तार गरिएको र एफटीटीएच सेवा विस्तारमा कम्पनी पहिलो नम्बरमा रहेको उल्लेख गरे । उनले यो सेवाको विस्तारले नेपाल सरकारको डिजिटल नेपाल स्थापना गर्ने अभियानमा सहयोग पुग्ने र डिजिटल रुपान्तरणमा प्रभावकारी योगदान पुग्ने बताए ।

कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहेका ग्राहकले एनटी टिभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नुपर्दछ । तत्कालका लागि काठमाडौं उपत्यकाका अधिकांश स्थानहरु र काठमाडौं बाहिर बनेपामा एनटी टिभी सेवा उपलब्ध हुनेछ ।

राष्ट्रिय टीभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटी टिभी सेवा वेसिक प्याकेज र प्रिमियम प्याकेजमा छुट्याइएको र सेवा अवधि एक महिना, तीन महिना वा एक वर्ष कायम गरिएको छ । इन्टरनेट व्याण्डविथ प्रयोगका आधारमा यसको मूल्य फरक-फरक कायम गरिएको छ । उदाहरणका लागि, वेसिक प्याकेजअन्तर्गत एक महिना अवधिका लागि १५ एमबीपीएस इन्टरनेट व्याण्डविथ सहितको एनटी टीभी सेवाको दर रु. १,२३० प्रतिमहिना रहेको छ भने एक वर्षको लागि १५ एमबीपीएस इन्टरनेट सहितको एनटी टीभी सेवा रु. १३,२२० मा उपलब्ध हुनेछ ।

यसैगरी प्रिमियम प्याकेजअन्तर्गत एक महिना अवधिका लागि १५ एमबीपीएस इन्टरनेट व्याण्डविथ सहितको एनटी टीभी सेवा रु. १,४००मा उपलब्ध हुनेछ भने एक वर्षका लागि ६० एमबीपीएस इन्टरनेट सहितको एनटी टीभी सेवा रु २४,५०० मा उपलब्ध हुनेछ । वेसिक र प्रिमियम दुवै प्याकेजमा एनटी नेटवर्कमा मासिक २५० मिनेट टेलिफोन गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।

कम्पनीले तारवाला फोनका ग्राहकहरुलाई प्राविधिक रुपले सम्भव भएसम्म एफटीटीएचमा रुपान्तरण गरिरहेको अवस्थामा एफटीटीएचअन्तर्गत भ्वाइस सेवा मात्र उपयोग गरिरहेका ग्राहकलाई पनि एनटी टिभी सेवा उपलब्ध हुनेछ । यसका लागि वेसिक प्याकेज अन्तर्गत एक महिनाको एनटी टीभी सेवा रु. ४८० मा उपलब्ध हुनेछ भने एक वर्षको रु ५,७८० मा उपलब्ध हुनेछ । यसैगरी भ्वाइस सेवा मात्र उपभोग गरिरहेका भएका एफटीटीएचका ग्राहकहरुले प्रिमियम प्याकेजअन्तर्गत एक महिनाको एनटी टीभी रु. ८०० मा प्राप्त गर्न सकिन्छ भने १२ महिनाको एनटी टीभी रु ८,३०० मा प्राप्त गर्न सकिन्छ ।

प्रकाशित समय १८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु