गृहपृष्ठ पाठेघरको सफल प्रत्यारोपण, शिशु पनि जन्मियो

पाठेघरको सफल प्रत्यारोपण, शिशु पनि जन्मियो

अमेरिकाकी एक महिलाले मृतकको पाठेघर प्रत्यारोपण गराएर स्वस्थ बच्चा जन्माएकी छन् । यो विश्वकै दोस्रो सफल परीक्षण हो । सन् २०१७ मा ३२ वर्षीया ब्राजिलियन महिलाले यसरी नै बच्चा जन्माएकी थिइन् । अमेरिकी चिकित्सकले गर्भाशयको अभावमा बच्चा जन्माउन नसकेका महिलाकाहरूका लागि यो खुसीको खबर हुने बताएका छन् ।

गत जुनमा एक ३० वर्षीया युवतीले शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन् । डा. टोम्मासो फाल्कोनीका अनुसार ती युवतीमा मृतक दाताको पाठेघर प्रत्यारोपण गरिएको थियो । ती महिलाले बच्चा जन्माएपछि प्रत्यारोपण गरिएको पाठेघर उनको शरीरबाट हटाइएको पनि डा. फाल्कोनीले जानकारी दिए ।

‘मृत महिलाको पाठेघर प्रत्यारोपण गरी बच्चा जन्माउन सकिने विषय अनुसन्धानकै क्रममा थियो,’  डा. फाल्कोनीले भने, ‘यस परीक्षणबाट चिकित्सकहरू पनि उत्साहित भएका छन् ।’ यसअघि प्रत्यारोपण गरिएको पाठेघरबाट बच्चा जन्मने कुरामा पनि शंका थियो ।

प्रत्यारोपण गरिएको पाठेघरबाट बच्चा जन्माउन सफल भएको दोस्रो सफलतापछि चिकित्सा क्षेत्रमा नयाँ उत्साह थपिएको डा. फाल्कोनीले बताएका छन् । एक ४५ वर्षीया महिलाले ब्राजिलियन महिलालाई पाठेघर दिएकी थिइन् । पाठेघर दाता महिलाको स्ट्रोकका कारण मृत्यु भएको थियो । क्लेभल्यान्डमा रहेको यो क्लिनिकले १८ देखि ४० वर्षका महिलाहरूमा प्रत्यारोपणका लागि पाठेघर लिने गरेको छ ।

पाठेघर प्रत्यारोपणदेखि बच्चा जन्माउने समयसम्म गरी यो समग्र प्रक्रियामा १५ महिना लागेको क्लिनिकले जनाएको छ । (एजेन्सी)

प्रकाशित समय १३:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु