गृहपृष्ठ जम्मु-कस्मिर मामिला भारतको संविधान अनुकूल : रूस

जम्मु-कस्मिर मामिला भारतको संविधान अनुकूल : रूस

रूसले भारतसँगको आफ्नो सच्चा मित्रभाव प्रकट गरेको छ । उसले जम्मु-कस्मिर मुद्दालाई भारतको संविधान अनुकूलको निर्णय भएको बताएको छ । भारतीय अनलाइन दैनिक भास्करका अनुसार रूसले विदेश मन्त्रालयका तर्फबाट विज्ञप्ति जारी गर्दै भनेको छ, ‘जम्मु-कस्मिरलाई विशेष अधिकारको सट्टा त्यस क्षेत्रलाई दुई क्षेत्रमा विभाजन गरी केन्द्र शासित प्रदेश बनाउने फैसला भारतको संविधान अनुकूल छ ।’

रूसले जम्मु-कस्मिरमा भएको यो घटनाले भारत र पाकिस्तानबिचको सम्बन्ध नबिग्रियोस् भन्ने आशा राखेको छ । ‘रूस सदैव भारत-पाकिस्तानबिच सुमधुर सम्बन्ध भएको देख्न चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दुवै देशले आपसी विवाद राजनीतिक, कूटनीतिक संवाद र द्विपक्षीय विधिबाट समाधान गर्ने नै छन् ।’

अमेरिका-युएनले कस्मिर मुद्दालाई द्विपक्षीय विधिबाट समाधान गर्न भनेका छन् । जम्मु-कस्मिरमा अनुच्छेद ३७० हटाएपछि पाकिस्तानले संयुक्त राष्ट्र सुरक्षा परिषद (युएनएससी) लाई चिठी लेख्दै हस्तक्षेप गर्न आग्रह गरेको थियो । युएन महासचिव गुटेरेसले सिमला सम्झौता स्मरण गराउँदै यस मुद्दामा कुनै तेस्रो पक्षले मध्यस्थता गर्न नसक्ने बताएका छन् । उनका प्रवक्ता स्टिफन डुजारिकले महासचिव जम्मु-कस्मिरको स्थितिप्रति जानकार रहेको बताएका छन् । उनले दुवै देशमा शान्ति कायम राख्न सुझाव दिएका छन् । संयुक्त राष्ट्रको बडापत्रअनुसार जम्मु-कस्मिरका विषयमा कुनै पनि निर्णय शान्तिपूर्ण तरिकाबाट हुनुपर्ने आशय उनको छ ।

यसै विषयमा अमेरिकाले पनि कस्मिरमा उठाइएको कदमले उसको नीतिमा कुनै परिवर्तन नहुने बताएको छ । उसले भारत र पाकिस्तानसँग मुद्दा समाधानका लागि नजिकबाट हेरेको छ । अमेरिकाले कस्मिर मुद्दालाई कुनै तेस्रो पक्षको मध्यस्थताबिना भारत र पाकिस्तानले द्विपक्षीय छलफलबाटै समाधान गर्नुपर्ने बताएको छ । यसअघि संयुक्त अरब इमिरेट्सले जम्मु-कस्मिरलाई भारतकै आन्तरिक मुद्दा बताउँदै यस विषयमा नबोल्ने बताएको छ ।

प्रकाशित समय ११:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु