गृहपृष्ठ इस्लामिक स्टेटका नेता बग्दादी मारिए
इस्लामिक स्टेटका नेता बग्दादी मारिए
आतंकवादी संगठन इस्लामिक स्टेटका नेता अबु बाकर अल-बग्दादी आफ्नो सैन्य कारबाहीमा मारिएको अमेरिकाले दावी गरेको छ ।
उत्तरी सिरियाबाट अमेरिकी सेना फिर्ता भएलगत्तै इस्लामिक स्टेटको प्रभाव बढ्ने अनुमान भइरहेका बेला त्यसै संगठनका प्रमुख नेता मारिएको खबर सार्वजनिक भएको हो । एकजना अमेरिकी अधिकारीले एसोसिएटेड प्रेसलाई बग्दादी सिरियाको इड्लिब प्रान्तमा मारिएको बताएका छन् । तर उक्त कारबाहीको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि शनिबार राति ‘आज ठूलै कुरा हुँदैछ’ भन्दै ट्वीट गरेका थिए । ह्वाइट हाउसका प्रवक्ता होगान गिड्लीले राष्ट्रपति ट्रम्पले उक्त हवाई कारबाहीका बारेमा आफैं वक्तव्य दिन लागेको जानकारी दिए । कुनै समय इराक, सिरिया समेतको ठूलो भूभागमा कब्जा जमाउन सफल इस्लामिक स्टेटले पछिल्लो समय पराजय भोगेको थियो ।
अल-बग्दादीले विगत पाँच वर्षदेखि इस्लामिक स्टेटको नेतृत्व गरिरहेका थिए । चरमपन्थी इस्लामिक यस संगठनले घाँटी छिनालेर व्यक्तिको क्रुरतापूर्वक हत्या गर्ने भन्दै बदनाम भएको थियो । इराक र सिरियामा प्रभाव राखेको यस संगठनमा पश्चिमा मुलुकका व्यक्तिसमेत लाखौं मानिस आबद्ध भएका थिए ।
अल-बग्दादीको मृत्यु भइसकेको बताइए पनि उनी पछिल्ला केही वर्षदेखि भूमिगत थिए । कतिपयले उनको मृत्यु भइसकेको दावी गरिरहेका थिए । यो संगठनका समर्थकहरुले युरोप र अमेरिकी भूभागमा आतंकवादी आक्रमण गरेका थिए । इस्लामिक स्टेटले पछिल्लो समय विमान अपहरण जस्ता ठूला आक्रमणको साटो साना स्तरका आक्रमणहरु गरेर जनजीवन त्रसित बनाउने गरिरहेका छन् ।
अमेरिकाले बग्दादीको टाउकोको मूल्य २ करोड ५० लाख तोकेको थियो ।(एजेन्सी)
प्रकाशित समय १२:३१ बजे

















