गृहपृष्ठ नेतन्याहुविरूद्ध अदालतमा मुद्दा दर्ता, प्रमलाई सर्वप्रथम भ्रष्टाचारको आरोप
नेतन्याहुविरूद्ध अदालतमा मुद्दा दर्ता, प्रमलाई सर्वप्रथम भ्रष्टाचारको आरोप
इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि ठगी, घुस र विश्वासघात गरेको आरोप लागेको छ । देशको इतिहासमै पहिलो पटक प्रधानमन्त्रीविरूद्ध यस्तो गम्भीर आरोप लगाइएको छ । वकिल जनरल एभिसाय मन्डेलब्लिटले बिहीबार नेतन्याहुविरूद्ध अदालतमा मुद्दा (अभियोग पत्र) दर्ता गरे । तीन महिना लामो छानबिनपछि यो अभियोग पत्र दर्ता गराइएको हो । नेतन्याहु इजराइलमा सबैभन्दा बढी समय पदासीन प्रधानमन्त्री हुन् ।
रिपोर्टअनुसार नेतन्याहु र उनकी पत्नी सारालाई राजनीतिक फाइदा पुर्याए बापत २.६ लाख डलरका महँगी सामग्री प्राप्त भए । उनले सकारात्मक समाचार प्रकाशित गर्ने दुई सञ्चार संस्थानका लागि मध्यस्थता पनि गरे । सञ्चार संस्थानहरूको फाइदाका लागि सांसदहरू र कर्मचारीसँग छलफल चलाए ।
नेतन्याहुले उनीविरूद्धका आरोपहरू अस्वीकार गर्दै आएका छन् । उनले आफूलाई राजनीतिक प्रतशोधको सिकार भएको बताउँदै आएका छन् । दैनिक भास्करका अनुसार यसै वर्ष अक्टोबरमा उनका कानुनी सल्लाहकारहरूले चार दिनसम्म विज्ञहरूसँग सरसल्लाह पनि गरेका थिए । यस समूहले प्रधानमन्त्रीमाथि लागेका आरोपहरू खारेज गर्न वा कम गर्न माग गरेका थिए । यसपछि पनि मुद्दामा कुनै परिवर्तन गरिएन ।
‘मैले भारी मनसहित एवं कानुनप्रतिको पूरा प्रतिबद्धताका साथ यो निर्णय लिएको हुँ, इजराइली जनतालाई आफ्नो देशमा कानुनभन्दा माथि कोही छैन भन्ने सुनिश्चित गर्न यो कदम चालेको हुँ,’ मन्डेलब्लिटले अभियोग पत्र पेस गरिसकेपछि भने, ‘यो मेरो कर्तव्य पनि हो ।’ भ्रष्टचारसम्बन्धी आशंकामा राम्ररी छानबिन हुनुपर्ने र कानुन पालना गर्नु विवेकको काम नभई एक बाध्यता भएको सबैले बुझ्नुपर्ने उनले बताएका छन् ।
प्रकाशित समय १५:४४ बजे

















