गृहपृष्ठ पाकिस्तानले मुम्बई आक्रमणकारीलाई सजाय नदिँदा अमेरिका असन्तुष्ट

पाकिस्तानले मुम्बई आक्रमणकारीलाई सजाय नदिँदा अमेरिका असन्तुष्ट

अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले सन् २००८ मा मुम्बईमा गरिएको आतंककारी हमलाका सम्बन्धमा पाकिस्तानको आलोचना गरेका छन् । २६ नोभेम्बरमा भएको त्यस घटनाको ११ वर्षसम्म पनि घटनामा संलग्न अपराधीलाई सजाय नहुँदा सारा विश्व आतंकित भएको पोम्पियोले बताए । सञ्चार माध्यमसँग कुरा गर्दै उनले हमलामा मारिएका ६ अमेरिकीसहित १६६ मृतकप्रति श्रद्धाञ्जली प्रकट गरे । पोम्पियोले थपे, ‘मुम्बई हमलाका योजनाकारलाई हालसम्म पनि सजाय नहुनु मृतका परिवारहरूका लागि दुःखको कुरा हो ।’

अमेरिकामा पाकिस्तानी दूतावास बाहिर मंगलबार अल्पसंख्यक समूहका कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरू मुम्बई हमलामा इस्लामाबादको भूमिकाविरूद्ध आवाज उठाउन त्यहाँ पुगेका थिए । दैनिक भास्करका अनुसार प्रदर्शनमा सहभागीहरूले पाकिस्तानमा अल्पसंख्यकहरूलाई दबाइएको विषयमा पनि आवाज उठाए । उनीहरूका हातमा मुहाजिरहरूको नरसंहार रोक्न र बलुचिस्तानको स्वतन्त्रतासँग जोडिएका ब्यानर पनि थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष मुम्बई हमलाको वार्षिकीमा ट्वीट गरेका थिए । उनले लेखेका थिए, ‘मुम्बई आतंकबादी हमलाको दसौं वर्षमा न्यायका लागि अमेरिका भारतीयहरूसँगै छ । हामी कहिल्यै पनि आतंककारीलाई विजय हुन दिन्नौं ।’

२६ नोभेम्बर २००८ मा १० जना आतंककारी कराचीबाट सामुद्रिक मार्ग हुँदै मुम्बई पुगेका थिए । उनीहरूले छत्रपति शिवाजी टर्मिनल, ताज होटल, ओबेराय ट्राइडेन्ट होटल र नरिमन हाउसमा आक्रमण गरेका थिए ।  यस आक्रमणमा २८ विदेशीसहित १६६ मानिस मारिएका थिए । करिब ६० घण्टाको मुठभेडमा एक आतंककारी कसाबलाई जिउँदै समातिएको थियो ।

प्रकाशित समय १०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु