गृहपृष्ठ बग्दादमा तीन बम विस्फोट, ६ को मृत्यु, १७ घाइते

बग्दादमा तीन बम विस्फोट, ६ को मृत्यु, १७ घाइते

इराकको राजधानी बग्दादमा तीन वटा बम विस्फोटन हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । इराकी गृह मन्त्रालयका अनुसार मङ्गलबार भएको सो घटनामा परी अरु १७ जना घाइते भएका छन् ।

‘हामीलाई प्राप्त जानकारीअनुसार अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने अरु १७ जना घाइते भएका छन्,’ एक प्रहरी अधिकारीले नाम सार्वजनिक नगर्ने सर्तमा भने ।

बग्दादमा मंगलबार बेलुकाको समयमा तीन ओटा बम विस्फोट भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । एउटा मोटरसाइकल बम चर्चित बजार अल शाबमा विस्फोट भएको थियो । सो ठाउँ बग्दादको उत्तरपूर्वी क्षेत्रमा पर्दछ ।

अर्को विस्फोट बग्दादको दक्षिणपूर्वी क्षेत्रमा पर्ने अल बैया क्षेत्रमा भएको समाचारमा जनाइएको छ । जहाँ चार जना घाइते भएका थिए । तेस्रो विस्फोट भने अल बालाडियटमा भएको हो । राजधानी बग्दादको पूर्वी क्षेत्रमा पर्ने यस ठाउँमा भएको विस्फोटनमा परी थप चार जना घाइते भएका थिए ।

विस्फोटनको घटनाका बारेमा अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् । तर यस क्षेत्रमा इस्लामिक स्टेट (आईएस) का लडाकूहरुले यसअघि धेरै हिंसात्मक घटना गराएकाले यो घटनामा पनि उनीहरुकै संलग्नता रहेको हुन सक्ने कतिपयको आशंका छ । (रासस)

प्रकाशित समय १४:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु