गृहपृष्ठ उत्तर कोरियाले अमेरिकासँग वार्ता रद्द गरेलगत्तै ‘अति महत्वपूर्ण परीक्षण’ गर्‍यो

उत्तर कोरियाले अमेरिकासँग वार्ता रद्द गरेलगत्तै ‘अति महत्वपूर्ण परीक्षण’ गर्‍यो

उत्तर कोरियाले अमेरिकासँग परमाणु अप्रसार सन्धिसम्बन्धी वार्ता रद्द गरेको छ । उसले अमेरिकालाई आफ्नै घरेलु राजनीतिक एजेन्डा बनाउनमा व्यस्त रहेको र वार्ता उसको समय लम्ब्याउने चालबाजी भएको आरोप लगाएको छ । राजदूत किम सोङले भने, ‘हामीलाई अमेरिकासँग लामो कुराकानीको आवश्यकता छैन । अब सम्झौताको समय सकिएको छ ।’

उत्तर कोरियाको केसिएनए न्युज एजेन्सीले सोङसँग कुराकानीमा केही समयपछि स्याटेलाइट लन्च साइटबाट अत्यन्तै महत्वपूर्ण परीक्षण गर्ने घोषणा गरे । उत्तर कोरियाले यसबाट देशको कूटनीतिक स्थिति परिवर्तन हुने बताएको छ ।

रिपोर्टका अनुसार परीक्षण सोहा स्याटेलाइटमा परीक्षण स्थलमा गरिएको हो । उत्तर कोरियाले यहाँबाट धेरै पटक क्षेप्यास्त्र परीक्षण र रकेट लन्च गरिसकेको छ । दक्षिण कोरियाका तर्फबाट यस परीक्षणको कुनै प्रतिक्रिया व्यक्त गरिएको छैन । सामान्यतया दक्षिण कोरियाले उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेपछि मात्र सावधान रहन सूचना जारी गर्छ ।

उत्तर कोरियाले सम्झौता रद्द गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘यदि किम जोङ-उन प्रशासनले कुनै प्रकारले शत्रुतापूर्ण व्यवहार गर्छ भने उनका लागि आश्चर्य हुनेछ ।’ संवाददाताले ट्रम्पलाई कसरी उत्तर कोरियालाई सम्झौता ल्याउन सकिएला भन्ने प्रश्नमा उनले भने, ‘मेरो किम जोङ-उनसँग राम्रो सम्बन्ध छ । मलाई दुवैले यथास्थिति बनाउनु सान्दर्भिक लाग्छ । उनलाई अमेरिका निर्वाचनमा रहेको थाहा छ । उनले व्यवधान गर्लान् भन्ने मलाई लाग्दैन । जे होस् हामीले भविष्यका बारेमा ख्याल गर्नैपर्छ ।’

हालै युरोपका ६ देश- फ्रान्स, जर्मनी, बेलायत, बेल्जियम, पोल्यान्ड र एस्टोनियाले ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणका लागि उत्तर कोरियाको विरोध गरेका थिए । यसपछि किम जोङ-उनले असन्तुष्टि जनाउँदै ती देशहरूलाई अमेरिकाका पाल्तु कुकुरको संज्ञा दिए । उत्तर कोरियाका उप विदेशमन्त्री चोए सोन हुईले ट्रम्पको निन्दा निरन्तर जारी रहनेछ बताए ।

कोरियाली प्रायद्वीपमा परमाणु निशस्त्रीकरण गर्ने विषयमा ट्रम्प र किमबीच गत वर्ष जुनमा सिंगापुरमा पहिलो बैठक भएको थियो । त्यसपछि यसै वर्षको फेब्रुअरीमा भियतनाममा यी दुई नेताबीच दोस्रो बिफल बैठक भयो । जी-२० समिटबाट फर्कंदा पनि ट्रम्पले कोरियाकै सीमाको असैन्य क्षेत्रमा किमसँग छलफल गरेका थिए । (एजेन्सी)

प्रकाशित समय १२:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु