गृहपृष्ठ भारतका असम-त्रिपुरा लगायतमा तनाव, स्थल र हवाई यातायात ठप्प
भारतका असम-त्रिपुरा लगायतमा तनाव, स्थल र हवाई यातायात ठप्प
नागरिकता संशोधन विधेयकलाई लिएर भारतका पूर्वोत्तरका राज्यहरूमा विरोध बढ्दै छ । धेरै ठाउँमा आगजनीका घटना पनि भएका छन् ।असममा तेस्रो दिन पनि हिंस्रक विरोध प्रदर्शन जारी छ । डिब्रूगढ र गुवाहाटीमा कर्फ्यु लगाइएको छ । राज्यमा सीआरपीएफका दस वटा कम्पनी तैनाथ छन् ।
केन्द्रीय मन्त्री र डिब्रुगढका भाजपा सांसद रामेश्वर तेलीले भने, ‘बुधबार रात लगभग ११ बजे मेरा काकाको पसलमा आगो लगाइयो । मेरो घरको सुरक्षा पर्खाल पनि प्रदर्शनकारीहरूले क्षति पुर्याएका छन् ।’ उनले असमका मानिससँग शान्ति कायम गर्न अपिल गरेका छन् ।
असम र त्रिपुरामा प्रदर्शनका कारण खेल प्रतियोगिताहरू रद्द गरिएका छन् । असममा सेनाका पाँच समूह तैनाथ गरिएको छ । असम राइफल्सका समूह त्रिपुरामा तैनाथ गरिएका छन् ।

पूर्वोत्तर सीमान्त रेलवेले सुरक्षाका कारण असम र त्रिपुरा आउने-जाने यात्री रेलको सेवा रोकेको छ । लामो दूरीका रेल गुवाहाटी रोकिएका छन् । कयौं यात्री गुवाहाटी र कामाख्यामा अड्किएका छन् ।आरपीएसएफका १२ समूह रेलवेको सम्पत्ति रक्षामा खटाइएका छन् ।
असममा प्रदर्शनकारीले आज बिहान कर्फ्यु उल्लंघन गरे । अखिल असम छात्र संगठन (आसु) ले विरोध प्रदर्शन आह्वान गरेको छ । प्रदर्शनकारीले केही वाहनमा आगजनी गरे । सहरका सावरी साधन फसेका छन् । राज्यका कयौं स्थानमा भाजपा र असम गण परिषद (अगप) का नेताहरूका घरमा पनि आक्रमण भएका छन् ।
नागरिकता संशोधन विधेयक, २०१९ विरूद्ध उच्चतम न्यायालयको ढोका पनि ढक्ढकाइएको छ । इन्डियन युनियन मुस्लिम लिगले मुद्दा दायर गरेको हो ।
कोलकाता विमानस्थलले कोलकाताबाट डिब्रुगढतिरका सबै उडान रद्द गरेको छ । इन्डिगो एयरले उडान रद्द गर्दै यात्रीलाई वैकल्पिक विमान छान्न वा रकम फिर्ता लिन अनुरोध गरेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले असमवासीहरूलाई नागरिकता संशोधन विधेयकबाट चिन्तित नहुन आग्रह गरेका छन् । यो विधेयकले कसैको विशिष्ट पहिचान र सुन्दर संस्कृतिमा आघात नपर्ने उनले बताएका छन् ।
डिब्रुगढमा कर्फ्युको पर्बाह नगरी सडकमा निस्केका प्रदर्शनकारीउपर प्रहरीले फायरिङ गरेको छ । प्रदर्शनकारी अति उग्र भएपछि फाइरिङ गर्नुपरेको प्रहरीले जनाएको छ । फायरिङपछि केही मानिसलाई गोली लागेको छ । घाइतेहरूलाई अस्पताल पुर्याइएका छन् । (एजेन्सी)
प्रकाशित समय १२:४५ बजे

















