गृहपृष्ठ अमेरिकी ८७ वर्षीया न्यायाधीश जिन्स्बर्ग अस्पताल भर्ना

अमेरिकी ८७ वर्षीया न्यायाधीश जिन्स्बर्ग अस्पताल भर्ना

अमेरिकी सर्वोच्च अदालतकी न्यायमूर्ति रूथ बडर जिन्स्बर्गलाई मंगलबार पित्ताशयमा पथरी (ढुंगा) देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ । तर उनले बुधबार टेलिफोनबाट अदालतको सुनुवाईमा भाग लिने सर्वोच्च अदालतले जनाएको छ ।

८७ वर्षीया न्यायाधीश जिन्स्बर्गको बाल्टिमोरस्थित जोन्स हप्किन्स अस्पतालमा बिना शल्यक्रिया पित्ताशयको पथरीको उपचार गरिएको अस्पतालले जनाएको छ । सर्वोच्च अदालतका अनुसार हाल अस्पतालमा आराम गरिरहेकी जिन्स्बर्गलाई एक वा दुई दिनपछि डिस्चार्ज गरिने छ ।

जिन्स्बर्गले सोमबार र मंगलबार टेलिफोन मार्फत अदालतको सुनुवाईमा भाग लिनु भएको थियो । उनको चार पटक क्यान्सर रोगको उपचार गरिएको छ । हालसालै गत अगस्टमा पेटको ट्युमरको लागि रेडिएसन गरिएको थियो ।

विभिन्न रोगसँग लडिरहे पनि यी उदारवादी वयोवृद्ध न्यायाधीशले सन् १९९३ देखि अर्थात विगत २७ वर्षदेखि सर्वोच्च अदालतमा निरन्तर सेवा गरिरहेका छन् । उनलाई तत्कालीन राष्ट्रपति बिल क्लिन्टनले नियुक्त गरेका थिए ।

कोरोना महामारीका कारण अमेरिकी सर्वोच्च अदालतमा पनि हाल टेलिफोन मार्फत मुद्दाहरुको सुनुवाई हुने गरेको छ । जिन्स्बर्गले आफूलाई स्वास्थ्य अवस्थाले साथ दिएमा ९० वर्षको उमेरसम्म सर्वोच्च अदालतमा सेवा गर्ने बताए ।

संयुक्तराज्य अमेरिकामा सर्वोच्च अदालतमा आजीवन न्यायाधीश हुन सक्ने संवैधानिक प्रावधान रहेको छ । (एजेन्सी)

प्रकाशित समय १३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु