गृहपृष्ठ चीनमा थप १७ जना संक्रमित, उहानमा परीक्षण अभियान
चीनमा थप १७ जना संक्रमित, उहानमा परीक्षण अभियान
कोरोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूको सम्मानका लागि चीनमा
माैनधारणा गरिँदै । (फाइल तस्बिर)
चीनमा कोरोनाभाइरसबाट थप १७ जना संक्रमित भएका छन् । कोरोनाभाइरसबाट संक्रमित हुनेहरु थपिने क्रम नरोकिएपछि उहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ । कोरोनाभाइरसको उद्गमस्थलसमेत मानिने उहानमा केही समय यसको संक्रमण रोकिएको बताइए पनि अहिले फेरि दिनप्रतिदिन संक्रमित हुनेहरुको संख्या थपिदै गएको छ ।
सरकारी अधिकारीहरुले अहिलेसम्म उहानका मात्रै झण्डै एक करोड दशलाख मानिसमा कोरोनाभाइरसको संक्रमित भए नभएको बारेमा स्वास्थ्य परीक्षण गरिएको छ ।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले देशको जिलिन प्रान्तमा पनि शनिबार थप पाँच जना सङ्क्रमित भेटिएको जनाएको छ । उनीहरुमध्ये तीन जनालाई स्थानीय संक्रमित भएको आयोगले आइतबार उल्लेख गरेको छ ।
कोरोनाभाइरसबाट संक्रमितकाे संख्या बढ्दै जान थालेपछि जिलिन सहरमा यसै हप्तादेखि लकडाउन लागू गरिएको छ । शनिबार थपिएकासँगै चीनमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ८२ हजार ९४७ पुगेको छ ।
स्वास्थ्य अधिकारीहरुका अनुसार कुल संक्रमितमध्ये अहिले पनि उपचाररत अवस्थामा ८६ जना छन् भने अरु ७८ हजार २२७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । चीनमा कोरोनाभाइरसबाट संक्रमित भएर अहिलेसम्म चार हजार ६३४ जनाको मृत्यु भएको छ ।
चीनमा गत डिसेम्बरको अन्तिम साता पहिलो पटक कोरोनाभाइरसको संक्रमण देखिएको थियो । त्यही संक्रमण फैलिदै गएर अहिले संसारभरी पुगेको विश्वास गरिन्छ ।
प्रकाशित समय १३:०५ बजे

















