गृहपृष्ठ अमेरिकामा एक वृद्धको कोरोना उपचार खर्च १३ करोड ७० लाख रुपैयाँ
अमेरिकामा एक वृद्धको कोरोना उपचार खर्च १३ करोड ७० लाख रुपैयाँ
अस्पतालबाट डिस्चार्ज हुँदै फ्लोर ।
अमेरिकी अस्पतालमा कोविड- १९ को उपचार खर्च ११ लाख अमेरिकी डलर पनि पर्यो होला भन्ने हामी जोसुकैले अनुमान लगाउन सक्दैनौं । तर संयुक्तराज्य अमेरिकामा एक ७० वर्षीय वृद्धले अस्पतालमा कोविड- १९ को उपचार गराएबापत ११ लाख डलरको बिलमा सही गर्नु परेको सियाटल टाइम्सले जनाएको छ ।
समाचार अनुसार गत मार्च ४ मा माइकल फ्लोर नामका वृद्धलाई कोविड- १९ को उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । जीवनमरणको दोसाँधमा पुगेका फ्लोरलाई त्यस अस्पतालमा ६२ दिन राखिएको थियो ।
एक पटक उनको अवस्था अति नाजुक भएको थियो । अस्पतालका नर्सहरुले ती वृद्धकी पत्नी र छोराछोरीलाई फोन गरेर अवस्था नाजूक भएको जानकारीसमेत गराएका थिए ।
तर भाग्यको खेल । उनी निको भए र गत मे ५ मा अस्पतालबाट डिस्चार्ज भए । अखबारका अनुसार डिस्चार्ज हुँदा उनलाई १८१ पृष्ठको बिल दिइयो, र यसको कूल बिल रकम ११ लाख २२ हजार ५०१ डलर (करिब १३ करोड ७० लाख नेपाली रुपैयाँ) को थियो ।
बिलमा सघन उपचार कक्षका लागि प्रतिदिन ९ हजार ७३६ डलर, ४२ दिनसम्म स्टेराइल कक्षमा राखेबापत ४ लाख ९ हजार डलर, २९ दिनसम्म भेन्टिलेटरको प्रयोग गरेबापत ८२ हजार डलर, दुई दिनसम्म आपतकालीन सेवाबापत एक लाख डलर समावेश थियो ।
तर उपचारबापत फ्लोरले एक पैसा तिर्नु परेन । अमेरिकी सरकारले वयोवृद्धका लागि व्यवस्था गरेको बिमा सेवा मेडिकेयरले यो सबै भुक्तानी गरेको छ । मेडिकेयरले सबै रकम भुक्तानी गरे पनि फ्लोर भने यो बिमा सुविधाबाट खुशी छैनन् । सियाटल टाइम्ससँग कुरा गर्दै फ्लोरले आफ्नो उपचारमा देखाइएको खर्च वास्तविक नै हो भन्नेमा शंका व्यक्त गरेका छन् ।
उनले आफूजस्ता धेरै व्यक्तिका लागि सरकारले गरेको खर्च आम अमेरिकी करदाताको रकम भएकाले यसप्रति सबै चनाखो हुनुपर्नेमा जोड दिएका छन् । (रासस)
प्रकाशित समय १६:४७ बजे

















