गृहपृष्ठ युरोपेली देशका आपसी सिमाना खुला
युरोपेली देशका आपसी सिमाना खुला
युरोपेली मुलुकहरुको आपसी सिमाना सोमबारदेखि पुनः खुला गरिएको छ । कोरोनाभाइरसको संक्रमणको डरका कारण झण्डै तीन महिनादेखि ती देशहरुको सिमाना बन्द गरिएको थियो ।
सिमानाहरु खुला गरिए पनि कतिपय शर्त तथा प्रतिबन्धनात्मक व्यवस्था भने अझै पनि लागू नै हुने अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी अमेरिकी, एशियाली र अन्य विदेशी पर्यटकहरुलाई पनि युरोपेली देशहरुमा प्रवेशका लागि अझै खुला गरिएको छैन ।
युरोपेली संघ अन्तर्गतका २७ देशहरु र केही ‘सेन्जेन’ देशहरुसँगै संघको सदस्य नरहेका देशहरुमा पनि अन्य देशका नागरिकहरु केही समय आवतजावत नगर्ने अपेक्षा गरिएको छ । यो अवस्था कम्तीमा पनि अर्को महिना सुरु नहुदासम्म रहने अनुमान गरिएको छ ।
सिमाना खुल्ला गरिएको र रेस्टुरेन्टहरु पुनः सञ्चालन गर्नेसम्बन्धी घोषणा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले गरेका थिए । उनले संकटपछिको नयाँ अवस्थामा आफूहरु फर्किएको बताउँदै संकटविरूद्धको लडाईंपछि पहिलो नयाँ थालनी भएको उल्लेख गरे ।
उमले महामारी विरूद्धको लडाईंको नयाँ चरणमा प्रवेश गरिएपनि चुनौती र खतरा भने कायमै रहेको ध्यानाकर्षण गराए । राष्ट्रपति म्याक्रोँले भने, ‘हामी फेरि केही खुकुलो भयौँ भन्नुको अर्थ भाइरस पुरै हराइसक्यो भन्ने बुझ्नु हुँदैन ।’
युरोपेली देशहरूमा अहिलेसम्म कोरोनाभाइरसका कारण झण्डै एक लाख ८२ हजार जनाको मृत्यु भइसकेको तथ्यांक छ भने झण्डै २० लाख मानिस संक्रमित भएका थिए ।
अमेरिकाको जोन्स हकिन्स विश्वविद्यालयले विश्वभरी झण्डै ८० लाख मानिस संक्रमित भएको जनाएको छ । (रासस)
प्रकाशित समय १९:३० बजे

















