गृहपृष्ठ ३४ वर्षअघिको घटनामा पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफविरुद्ध भ्रष्टाचार मुद्दा
३४ वर्षअघिको घटनामा पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफविरुद्ध भ्रष्टाचार मुद्दा
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफका विरुद्धमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ ।पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायले भ्रष्टाचार गरेको भन्दै शरिफविरुद्ध मुद्दा दायर गरेको अधिकारीहरुले जनाएका छन् ।
उनीसँगै अरु तीन जनलाई पनि ३४ वर्ष अगाडिको प्रञ्जाव प्रान्तको जग्गासम्बन्धी काम कानुनविपरित गरेको भन्दै दोषी दावी गरेर मुद्दा दायर गरिएको हो । स्वास्थ्य उपचारका क्रममा अहिले बेलायतको लण्डनमा रहेका ७० वर्षीय शरिफलाई पक्राउ पूर्जी पनि जारी गरिएको छ ।
पाकिस्तानमा तीनपटक प्रधानमन्त्री भएका शरिफलाई यसअघि भ्रष्टाचारसम्बन्धी अन्य मुद्दा पनि लगाइएको छ । अहिलेको मुद्दामा उनीसँगै दोषी दावी गरिएकामा जङ/जेओ मिडिया ग्रुपका सञ्चालक मिर शकिलुर रहमान, लाहोर विकास प्राधिकरणका पूर्व निर्देशक हुमायुन फइज रासुल र पूर्वभूमि निर्देशक मिअन बसिर रहेका छन् ।
सन् १९८६ मा शरिफ पञ्जाबको मुख्यमन्त्री भएका थिए । मुख्यमन्त्री रहेको समय उनले अवैध तरिकाले मिर शुकिलुर रहमानलाई लाहोरको केही जग्गा दिलाएको दावी गरिएको छ । सो कार्य गर्दा शरिफ र दुई जना सरकारी उच्च अधिकारीले कानुनको उल्लंघन गर्दै शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ ।
अन्य मुद्दा समेतमा आरोप लागेर दण्ड सजाय भोग्नु भएका शरिफले उपचारका लागि अदालतले अनुमति दिएपछि गत नोभेम्बरमा लण्डन गएका हुन् । उपचारका लागि चार हप्ताका लागि मात्रै अनुमति पाए पनि उनी अहिलेसम्म उतै बसिरहेका छन् । शरिफकी श्रीमतीको पनि दुई वर्षअगाडि उपचारकै क्रममा लण्डनमा निधन भएको थियो ।
प्रकाशित समय १४:२७ बजे

















