गृहपृष्ठ स्वास्थ्यमा समस्या आएपछि राजीनामा दिदै जापानी प्रधानमन्त्री आबे

स्वास्थ्यमा समस्या आएपछि राजीनामा दिदै जापानी प्रधानमन्त्री आबे

sinjo-abe-newskarobar

जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिन लागेको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । उनको दलले पनि त्यसको पुष्टि गरेको छ । उनी आन्द्राको समस्याबाट लामो समयदेखि पीडित छन् । अहिले उनको अवस्था झन् बिग्रिएको अनुमान गरिएको छ ।

सरकारी प्रसारक एनएचकेका अनुसार ६५ वर्षीय आबेले आफ्नो कारणले सरकार सञ्चालनमा समस्या नहोस् भन्ने चाहेका छन् । उनी सन् २०१२ देखि निरन्तर देशको कार्यकारी नेता रहेका आबे जापानी इतिहासमा सबैभन्दा लामो समय काम गर्ने प्रधानमन्त्री हुन्। ‍उनको पदावधि २०२१ सम्म छ ।

प्रधानमन्त्रीको स्वास्थ्यबारे किन चासो ?
सन् २००७ मा पनि उनले स्वास्थ्यकै कारण प्रधानमन्त्रीको पद छोडेका थिए । उनलाई किशोरावस्थादेखि आन्द्रा सुन्निने रोग छ । एकै साता दुई चोटी अस्पताल गएपछि आबेको स्वास्थ्यस्थिति बिग्रिन थालेको हो कि भनेर प्रश्न उठ्यो । उनले आफू किन अस्पताल गएको हो भनेर बताएका छैनन् । तर, एक चोटी आठ घण्टा अस्पतालमा बसेको विवरण प्राप्त भएको छ ।

यसअघि सत्तारूढ दल लिबरल डेमोक्र्याटिक पार्टीका पदाधिकारीहरूले आबेले पदत्याग गर्ने अनुमानको खण्डन गर्दै प्रधानमन्त्रीको स्वास्थ्य ठिक भएको दाबी गरेका थिए । मंगलवार उनका एक सहयोगीले समाचारसंस्था रोएटर्सलाई आबेले आफ्नो पदावधि पूरा गर्ने आफूलाई लागेको बताएका थिए । संसद् भंग हुने र मध्यावधि निर्वाचन गराइने अनुमानको खण्डन गर्दै आकिरा आमारीले प्रधानमन्त्रीले त्यसो नगर्ने दाबी गरेका थिए । ‘अहिले कुनै मध्यावधि निर्वाचन हुँदैन,’ उनको भनाइ थियो ।

प्रधानमन्त्री अशक्त भए के हुन्छ ?
प्रधानमन्त्रीले कार्यभार सम्हाल्न नसकेको अवस्थामा जापानी कानुनअनुसार कार्यवाहक प्रधानमन्त्री नियुक्त हुन्छन् । तर, कार्यवाहक प्रधानमन्त्री कहिलेसम्म पदमा रहने भन्ने सीमा तोकिएको छैन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री टारो आसो मर्यादाक्रममा प्रधानमन्त्रीपछि दोस्रो स्थानमा छन् । त्यसपछि मन्त्रिपरिषद्का मुख्यसचिव योशिहिदे सुगा छन् । कार्यवाहक प्रधानमन्त्रीले मध्यावधि निर्वाचनको घोषणा गर्न सक्दैनन् । तर, दलले नयाँ नेता र प्रधानमन्त्री नछानेसम्म अन्य काम गर्न सक्छन् ।

आबेले राजीनामा दिए के हुन्छ ?
प्रधानमन्त्रीले राजीनामा दिए वा दिने घोषणा गरे भने सत्तारूढ दलले आफ्नो नयाँ अध्यक्ष चुन्न मतदात गराउनुपर्छ । त्यसपछि संसद्‌मा नयाँ प्रधानमन्त्रीको निर्वाचन हुन्छ । त्यसरी छानिएका नेता आगामी वर्ष सेप्टेम्बरसम्मका लागि आबेका स्थानमा प्रधानमन्त्री बन्नेछन् । (बीबीसीबाट)

प्रकाशित समय १३:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु