गृहपृष्ठ तान्जानियाका नवनिर्वाचित राष्ट्रपतिद्वारा सपथग्रहण

तान्जानियाका नवनिर्वाचित राष्ट्रपतिद्वारा सपथग्रहण

अफ्रिकी मुलुक तान्जानियाको राष्ट्रपति पदमा निर्वाचित जोन मागुफुलीले बिहीबार कडा सुरक्षाबीच सपथ ग्रहण गरेका छन् । विपक्षीहरुले भने चुनावमा व्यापक धाँधलीको आरोप लगाउँदै पुनः निर्वाचन गराउन माग गरेका छन् ।

राष्ट्रपति मागुफुलीले गए साता आफू अर्को कार्यकालका लागि उम्मेदवार नहुने बताएका थिए । सत्तारुढ पार्टीले तान्जानियाको संसदको सबैजसो स्थान जितेको छ । संसदले तान्जानियाको संविधान संशोधन गरी दुई पटकभन्दा बढी राष्ट्रपति हुन नपाउने प्रावधान हटाउने बारेमा विचारविमर्श गरेकै अवस्थामा राष्ट्रपति मागुफुलीको यस्तो बताएका थिए ।

सपथग्रहण कार्यक्रमका अवसरमा राजधानीमा प्रहरी र सेना परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको थियो । तान्जानियाका प्रमुख दुई दल एसिटी वाचालेन्डो र चाडिमाका नेताहरुलाई गैरकानुनी सभा र प्रदर्शन गरेको भन्दै दोषी ठहराइएको छ ।

अमेरिका र अन्य कतिपय मुलुकले निर्वाचन परिणामप्रति चासो देखाएका छन् । सपथग्रहण कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै राष्ट्रपति मागुफुलीले निर्वाचनका अवसरमा व्यक्त प्रतिबद्धतालाई पूरा गर्नेतर्फ आफू र आफ्नो सरकारले कार्य गर्ने बताए । उनले तान्जानियालाई न्यून-मध्यम-आय भएको मुलुकबाट माथि लैजाने र युवाका लागि रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रपति मागुफुलीले विपक्षीले लगाएको आरोपका बारेमा सम्बोधनका क्रममा केही बताएनन् । उनले अन्य मुलुकमा भएका निर्वाचनमा धाँधली र अराजक स्थिति देखिएको दृष्टान्त दिँदै तान्जानियामा निर्वाचन तुलनात्मक रुपमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिकिर गरे ।

उनले रणनीतिक महत्वका परियाजना सम्पन्न गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । तान्जानियाको सबैभन्दा ठूलो वन्यजन्तु संरक्षण केन्द्र र युनेस्को विश्व सम्पदा सूचीमा रहेको स्थानमा विवादास्पद स्टिगलर गोर्ज जलविद्युत आयोजना पूरा गर्ने उनको भनाइ छ ।

प्रकाशित समय १३:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु