गृहपृष्ठ न्युजिल्यान्डकी प्रधानमन्त्रीले भनिन्‑ साना व्यवसायीलाई बचाउनु नै अर्थतन्त्रको पुनरुत्थान

न्युजिल्यान्डकी प्रधानमन्त्रीले भनिन्‑ साना व्यवसायीलाई बचाउनु नै अर्थतन्त्रको पुनरुत्थान

jacinda ardern prime minister of new zealand (2)

न्युजिल्यान्डको नवगठित सरकारले कोरोनाबाट बढी प्रभावित साना व्यवसायीका लागि विशेष राहत कार्यक्रम घोषणा गरेको छ । लेबर पार्टीको सरकारको पहिलो मन्त्रिपरिषद बैठकले साना व्यवसायीलाई उठाउन बलियो सहयोगका कार्यक्रम अघि सारेको हो ।

साना व्यवसायी राज्यको अर्थतन्त्रको महत्वपूर्ण अंश भएकाले उनीहरुलाई सहयोग गरे देशको अर्थतन्त्र पनि जोगिने डच सरकारको ठहर छ । ‘मन्त्रिपरिषद बैठकले साना व्यवसायीका लागि राहत प्याकेज दिने निर्णय गरेको छ, यसअघि दिँदै आएका सहुलियतहरूको म्याद पनि थप गरिएको छ,’ प्रधानमन्त्री जसिन्दा अर्डेनले भनिन् ।

मन्त्रीपरिषद् बैठकपछि सम्बोधनका क्रममा उनले यो वर्ष म्याद सकिन लागेका राहत तथा सहुलियतका कार्यक्रम सन् २०२३ को डिसेम्बर ३१ सम्म जारी रहने बताइन् । कोरोनाका कारण मर्कामा परेका साना व्यवसायीलाई एक वर्षदेखि दुई वर्षसम्म ब्याज मिनाहा सहुलियत दिइने निर्णय भएको प्रधानमन्त्रीले जानकारी गराइन् । ‘जसरी कोरोनाभाइरस महामारी डिसेम्बरसम्म सकिँदैन, त्यसरी नै हाम्रो राहत प्याकेजले पनि निरन्तरता पाउँछ,’ उनले व्यवसायीलाई आश्वस्त रहने आग्रह गर्दै भनिन् ।

फरक व्यवसायलाई फरक समय र अवस्थाको राहत प्याकेज चाहिने भएकाले त्यही अनुसारको व्यवस्था गरिएको प्रधानमन्त्री अर्डेनले जानकारी दिइन् । कठिन समयमा व्यवसायीलाई सरकारले पछाडिबाट सपोर्ट गर्नु नै महत्वपूर्ण हुने उनले बताइन् । ‘अर्थतन्त्रलाई पुनरुत्थान गर्नु सरकारको प्राथमिकता हो, त्यसका लागि साना व्यवसायीलाई बचाउनु पुनरुत्थानका लागि मुख्य उपाय हो,’ उनले भनिन् ।

न्युजिल्यान्डमा हालै भएको निर्वाचनपछि गठन भएको सरकारका मन्त्रीहरुले शुक्रबार सपथग्रहण गरेका छन् । त्यसपछि सोमबार पहिलो बैठक बसेको हो । निर्वाचनअघि पनि सरकारको नेतृत्व गरेकी अर्डेनले कोरोनाभाइरस महामारी व्यवस्थापनका लागि प्रभावकारी, परिपक्व र जिम्मेवार भूमिका खेलेको ठानेर अहिलेको निर्वाचनमा अझ धेरै जनमत पाएकी हुन् ।

प्रकाशित समय ०७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु