गृहपृष्ठ मत परिणाम उल्टाउने ट्रम्पको प्रयासले अमेरिकामा हिंसा भड्कियो

मत परिणाम उल्टाउने ट्रम्पको प्रयासले अमेरिकामा हिंसा भड्कियो

राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने ट्रम्पको प्रयासका कारण अमेरिकामा हिंसा भड्किएको छ । ट्रम्पको समर्थनमा निस्किएको प्रदर्शनका क्रममा भड्किएको हिंसामा गोली लागेर एक महिलाको मृत्यु भएको छ । हिंसा भड्किएपछि राजधानी वासिङ्टन डिसीमा कर्फ्यु लगाइएको छ ।

वासिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ)मा अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर भएको बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडेन विजयी भएको औपचारिक र कानुनी पुष्टि गर्ने कार्यक्रममा ट्रम्पका समर्थक भेला भएर प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारी क्यापिटल बिल्डिङभित्रै प्रवेश गरेर अमेरिकी राष्ट्रपति चुनाव रद्द गर्नुपर्ने नारा लगाउन थालेपछि हिंसा सुरु भएको थियो । प्रदर्शनकारीलाई रोक्ने प्रयासमा नेसनल गार्डस् एक्सनमा उत्रिएको र सोही क्रममा क्यापिटल बिल्डिङमा प्रदर्शन गर्ने एक महिलालाई गोली लागेको थियो ।

करिब तीन घण्टाको तोडफोड र हिंसात्मक प्रदर्शनपछि मात्र स्थिति नियन्त्रणमा रहेको अमेरिकी अधिकारीहरुले बताएका छन् । अमेरिकामा भएको यो हिंसात्मक घटनाको जिम्मेवारी ट्रम्प भएको भन्दै चौतर्फी निन्दा भइरहेको छ । राष्ट्रपतिमा निर्वाचित बाइडेनले ट्रम्पलाई हिंसा अन्त्य गर्न र संविधानको रक्षा गर्न आग्रह गरेका छन् ।

प्रकाशित समय ०८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु