गृहपृष्ठ दक्षिण सुडानमा स्थायी युद्धबिरामको सम्झौता

दक्षिण सुडानमा स्थायी युद्धबिरामको सम्झौता

दक्षिण सुडानका राष्ट्रपति साल्भा किर र विद्रोही नेता रिक माचारका बीचमा स्थायी युद्धबिराम गर्ने सहमति भएको छ । बुधबार भएको स्थायी युद्धबिरामको सम्झौता ७२ घण्टामा कार्यान्वयनमा आउने अधिकारीहरूले जनाएका छन् ।

दक्षिण सुडानमा लामो समयदेखि भइरहेको विध्वंशकारी युद्धलाई अहिलेको सम्झौताले अन्त्य गर्ने विश्वास गरिएको छ । ‘स्थायी युद्धबिरामको सम्झौतामा सबै पार्टीले हस्ताक्षर गरेका छन्’ सुडानका विदेशमन्त्री अल डियरडीरी अहमदले सुडानको राजधानीमा जानकारी दिए ।

दक्षिण सुडानका राष्ट्रपति किर र विद्रोहीतर्फका नेता माचारले सुडानका राष्ट्रपति ओमर अल बसिरको उपस्थितिमा स्थायी युद्धबिराम गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यसअघि पनि यस्तै थुप्रै युद्धबिराम सम्झौता भएका र तिनीहरूको उल्लंघन पनि भएका छन् । प्रायः सम्झौता दक्षिण सुडानभन्दा बाहिरी देशहरूमा भएका छन् ।

विभिन्न चरणमा भएका पटक–पटकका वार्ता तथा छलफलहरू पछि अहिलेको सम्झौता भएको बताइएको छ । वार्ताका लागि इथियोपियाका प्रधानमन्त्री अविय अहमदले पनि ठूलो योगदान गरेको बताइएको छ । दक्षिण सुडानमा भएको युद्धका कारण दशौं हजार जना मारिएका छन् भने लाखौं विस्थापित भएका छन् ।

विद्रोहीहरूको नेतृत्व गरेका रिक दक्षिण सुडानका पूर्व राष्ट्रपतिसमेत हुन् । विश्वभरका नेताहरूले पटकपटक दबाब दिएपछि उनीहरु सम्झौताका लागि तयार भएको बताइएको छ ।
(रासस\एएफपी)

प्रकाशित समय १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु