गृहपृष्ठ अमेरिकी सर्वोच्च अदालतमा क्याभाना नियुक्त

अमेरिकी सर्वोच्च अदालतमा क्याभाना नियुक्त

विरोधकाबीच अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभाना नियुक्त भएका छन् । अमेरिकी संसदमा भएको मतदानमा क्याभानाको नियुक्तिको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो ।

न्यायाधीश क्याभानाको संसदीय अनुमोदन लगत्तै सर्वोच्च अदालतमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ गराइएको छ । सर्वोच्च अदालतमा उक्त समारोह चलिरहँदा बाहिर क्याभानाको विपक्षमा रहेकाहरुले नाराबाजी गरेका थिए । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

न्यायाधीश क्याभानाले आफूमाथि स्कुले जीवनमा यौनशोषण गरेको भन्दै प्राध्यापक क्रिस्टिन ब्लासी फोर्डले संसदको न्यायिक समितिमा स्वयं उपस्थित भएर बयान दिएकी थिइन् । तर क्याभानाले उक्त आरोप असत्य रहेको र त्यो आफ्नो चरित्र हत्या गर्ने कुत्सित मनसायबाट प्रेरित रहेको बताउँदै आएका थिए ।

सिनेट न्यायिक समितिमा भएको सुनुवाइमा सहमति नभएपछि विपक्षी डेमोक्रेटिक पार्टीका सांसदको अनुरोधमा क्याभानामाथि लागेका आरोपबारे छानबिन गर्न अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) लाई जिम्मा दिइएको थियो ।

न्यायाधीश क्याभानाको विषयमा अमेरिकी समाज नै दुई कित्तामा बाँडिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यायाधीश क्याभानालाई सर्वोच्च अदालतमा नियुक्तिका लागि मनोनयन गरेका थिए । ट्रम्पले क्याभाना एक इमान्दार र सक्षम व्यक्ति रहेको बताउँदै आएका थिए । राष्ट्रपति ट्रम्पले क्याभानाको अनुमोदन लगत्तै चुनावी सभामा सम्बोधन गर्दैै ‘यो अमेरिकी जनताको जीत भएको’ बताए ।

अनुदारवादी भनेर चिनिएका क्याभानाको नियुक्तिसँगै अमेरिकी सर्वोच्च अदालतमा अनुदारवादी न्यायाधीशको बहुमत पुगेको छ । अमेरिकी सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीशहरु आजीवन सो पदमा रहन पाउँछन् ।
न्यायाधीश क्याभानाको पक्षमा भएको यो मतदानले आगामी नोभेम्बरमा हुने अमेरिकी सिनेटको मध्यावधि चुनावमा रिपब्लिकन पार्टीलाई थप मद्दत पुग्ने अपेक्षा समेत गरिएको छ ।

केन्टुकी राज्यबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन सिनेटर मिच म्याककोनेलले यो विजयले रिपब्लिकनको मत बढेको दाबी गरे । तर डेमोक्रेटिक पार्टीका नेता चुक शुमरले न्यूयोर्कमा भने, ‘जनताले परिवर्तन चाहेका छन्, र त्यो मतदानका दिन देखिने छ ।’

प्रकाशित समय १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु