गृहपृष्ठ चीनसँग किन सम्बन्ध गाढा बनाउँदै छ रुस ?

चीनसँग किन सम्बन्ध गाढा बनाउँदै छ रुस ?

china-russia-relation-newskarobar

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग आफ्नो देश थप सहयोग र समन्वय विकासका लागि तयार रहेको बताएका छन् । रुस र चीनका साझा चासोका विषयहरुको प्रवर्धनका साथै अन्य साझा हितका क्षेत्रहरुको विस्तार र विकासका लागि रुसले चीनसँग थप सहयोग र समन्वय विस्तार गर्ने धारणा राष्ट्रपति पुटिनले राखेका हुन् ।

रुस र चीनबीचको साझा चासोका साथै क्षेत्रीय विकास र विश्व शान्तिका लागि रुसले चीनसँग थप समझदारीका साथ अघि बढ्न चाहेको उनले बताए । चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक ब्युरो सदस्य याङ जेइचीसँग शुक्रबार रुसमा भएको भेटवार्तापछि उनले यस्तो धारणा राखेका हुन् ।

रुस र चीनबीचका सबै साझा सहमति र समझ्दारीहरुको कार्यान्वयन भइरहेको बताउँदै उनले भने, ‘हामी चीनसँग सबै तह र क्षेत्रमा नजिकको संवाद चाहन्छौँ र यसमार्फत थप समझदारीहरु विकसित हुँदै जाउन् भन्ने चाहन्छौँ ।’

त्यस अवसरमा राष्ट्रपति पुटिनले गत सेप्टेम्बर महिनामा रुसको भ्लादिभोस्तोकमा सम्पन्न इस्टर्न इकोनोमिक फोरममा सहभागी भएकोमा चिनियाँ राष्ट्रपति सि चिनफिङप्रति धन्यवाद पनि ज्ञापन गरे । फोरममा दुवै देशका राष्ट्रपतिले आफ्नो द्विपक्षीय हित, चीन र रुसबीचको साझा चासोका साथै आपसी समझदारी र क्षेत्रीय शान्ति र समृद्धिका क्षेत्रमा पनि महत्वपूर्ण कुराकानी गरेको याङले बताए ।

फोरममा सहभागिताका क्रममा उनीहरुबीचको भेटका क्रममा दुई देशको आपसी विषयका साथै दुई देशले संयुक्त रुपमा गर्ने भनिएका उर्जा, कृषि, विज्ञान तथा प्रविधिजस्ता साझा आयोजनाको सशक्त कार्यान्वयनका बारेमा पनि कुरा भएको याङले जानकारी दिए ।

साथै, आगामी वर्ष मनाउन लागिएको चीन रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको कार्यक्रमलाई थप भव्य बनाउन उच्चस्तरीय कार्यक्रमहरुको आयोजना गरिने विषयमा पनि कुराकानी गरेको जानकारी दिए । (रासस/एएफपी)

प्रकाशित समय ११:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु