गृहपृष्ठ इटालीमा शक्तिशाली आँधी, १० जनाको मृत्यु
इटालीमा शक्तिशाली आँधी, १० जनाको मृत्यु
इटालीमा मंगलबार आएको शक्तिशाली आँधीमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ ।
दक्षिणी तथा मध्य यूरोपका अधिकांश क्षेत्रमा खराब मौसमका कारण पर्यटक र यात्रुहरू हजारौँको संख्यामा बाटोमै अलपत्र परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । हिमवर्षाका कारण यात्रामा निस्किएकाहरुले गाडीभित्रै सुतेर रात विताएको बताइएको छ ।
आँधीका कारण रूख ढलेर विभिन्न क्षेत्रमा बाटो बन्द भएपछि सवारी साधन बीचमै अलपत्र परेका छन् । इटालीको भेनिस शहरमा १८० किलोमिटरको गतिमा आएको हुरी र व्यापक बर्षाका कारण कतिपय गहिरा क्षेत्रहरू डुबानमा परेका छन् ।
मंगलबार बर्षापछि गएको पहिरोले घर पुरिँदा ट्रेन्टिनोमा एक महिलाको मृत्यु भएको थियो भने सोमबार उक्त क्षेत्रमा करिब पाँच जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । दक्षिणी टायरोलमा उद्धारका लागि खटेका एक जना अग्नी नियन्त्रकको समेत मृत्यु भएको छ । भेनेटोमा अर्का एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमध्ये विदेशी नागरिक रहेको सूचना नपाइएको इटालीका अधिकारीले जनाएका छन् । हिमवर्षाका कारण स्वीट्जरल्याण्डको स्टेलभियो पास क्षेत्रमा पर्यटक तथा होटेल कर्मचारीसहित १७० जना फसेका बताइएको छ ।
प्रकाशित समय ०८:३७ बजे



















