गृहपृष्ठ श्रीलंकाली राष्ट्रपतिद्वारा वार्ताको आह्वान

श्रीलंकाली राष्ट्रपतिद्वारा वार्ताको आह्वान

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पछिल्लो समय बढ्दै गएको शक्ति सङ्घर्ष समाप्त गर्ने उद्देश्यले आइतबार मुख्य राजनीतिक दलका नेताहरुलाई वार्ताका लागि आमन्त्रण गरेका छन् । गत महिना अक्टोबर २६ मा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई बर्खास्त गरेयता श्रीलंकामा राजनीतिक तनाव चुलिएको छ ।

राष्ट्रपति सिरिसेनाले महिन्दा राजापाक्षलाई प्रधानमन्त्रीमा गरेको नियुक्त अवैधानिक रहेको भन्दै बर्खास्तीमा परेका विक्रमासिङ्घेले अदालतमा मुद्दा दायर गर्नुभएको थियो । साथै, पुनस्र्था्पित संसदले मतदान गरी राजापाक्षलाई पदबाट हटाएको छ ।

रनिल विक्रमासिङ्घेले आफू अझै मुलुकको प्रधानमन्त्री रहेको दाबी गर्दै आएका छन् । राष्ट्रपति सिरिसेनाले संसदमा रहेका दलका प्रतिनिधिहरुसँग आइतबार बैठक डाकेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिले हालको राजनीतिक अस्थिरता र द्वन्द्वको अवस्था अन्त्य गर्न बैठक बोलाएका हुन् । उनले संसदको कार्यवाहीलाई नियमित गर्न चाहेका छन् ।

गतसाता राजापाक्ष पक्षधरका सांसदहरुले अविश्वासको प्रस्तावमाथि छलफल हुन नदिन संसदमा फर्निचर तोडफोड गर्नुका साथै विपक्षीहरुमाथि खोर्सानीको धूलो फालेका थिए । राजापाक्षका विपक्षमा शुक्रबार भएको दोस्रो मतदानपछि विक्रमासिङ्घेले आफ्नो सरकार पुनस्र्था्पित हुनुपर्ने माग गर्नुभएको थियो, तर राष्ट्रपति सिरिसेनाका तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन ।

विक्रमासिङ्घेले श्रीलंकामा स्थायित्व आवश्यक रहेको बताउँदै संवैधानिक सङ्कट निम्त्याउने गरी शक्ति सङ्घर्ष भएपनि आफू राष्ट्रपतिसँग मिलेर कार्य गर्न तयार रहेको स्पष्ट पारे।

राष्ट्रपतिले विक्रमासिङ्घेलाई पदच्यूत गरेपछि नोभेम्बर ९ मा संसद समेत विघटन गरेका थिए, तर सर्वोच्च अदालतले राष्ट्रपतिको आदेशलाई खारेज गर्नुका साथै संसद पुनस्र्थापना गरेको थियो ।उन्नाइस दिनदेखि श्रीलंकाको प्रधानमन्त्रीमा दुई नेताले दाबी गरिरहेका थिए, तर बिहीबार संसदका सभामुख कारु जयसुरियाले कुनै पनि नेतालाई प्रधानमन्त्रीका रुपमा मान्यता दिन असफल हुनुभएको छ । उक्त कदमसँगै आधिकारिक रुपमा श्रीलंकामा सरकार छैन ।
(रासस/एएफपी)

प्रकाशित समय १५:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु