गृहपृष्ठ सबरीमाला मन्दिरमा महिला प्रवेश गर्न खोजेपछि झडप
सबरीमाला मन्दिरमा महिला प्रवेश गर्न खोजेपछि झडप
भारतको एउटा मन्दिरमा महिला प्रवेश गर्न खोजेपछि बुधबार झडप भएको छ । परम्परागत रूपमा महिलालाई निषेध गरिएको सो मन्दिरमा परम्पराविपरीत प्रवेश गर्न लागेको भन्दै अवरोध भएपछि झडप भएको हो ।
अदालतले महिलालाई मन्दिरमा प्रवेश गर्न केही समय पहिले आदेश दिएको थियो । सोही आदेशको आडमा महिलाहरू मन्दिर प्रवेश गर्न खोजे पनि स्थानीय पुरूषले प्रवेश गर्न नदिएका हुन् । झडप रोक्नका लागि प्रहरीले अश्रुग्याँससमेत प्रहार गरेको छ भने झडपका क्रममा दुवैतर्फका केही घाइते भएका छन् ।
भारतको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा रहेको सबरीमाला मन्दिरमा महिलाहरूलाई पनि प्रवेश गर्न दिन सर्वोच्च अदालतले गत सेप्टेम्बरमा फैसला गरेको थियो । सो मन्दिरमा रजस्वला हुने उमेर भएका १० देखि ५० वर्षका महिलालाई प्रवेश गर्न नदिइने परम्परा गलत भएको अदालतको ठम्याइ थियो ।
रजस्वला हुँदा अपवित्र हुने मान्यताका कारण महिलाले धार्मिक कार्यमा सहभागी हुन वा मन्दिरमा प्रवेश गर्न हुँदैन भन्ने प्रचलन छ । सो प्रचलनबाट लैंगिक भेदभाव भएको भन्दै मुद्दा परेपछि अदालतबाट मन्दिर प्रवेशमा निषेध गर्न नपाइने फैसला गरेको हो ।
फैसला सुनाउँदै भारतका प्रधानन्यायाधीश दीपक मिश्रले ‘प्रतिष्ठा र परिचयका लागि धर्म’ भएको भन्दै ‘धर्मको अनुसरण गर्ने अधिकार महिला पुरुष दुवैलाई बराबर भएको’ उल्लेख गरेका थिए । तर, मिश्रको नेतृत्वमा बसेको पाँच सदस्यीय संवैधानिक इजलासमा रहेकी एकमात्र महिला न्यायाधीश इन्दु मलहोत्राले भने यस फैसलामा असहमति जनाएकी थिइन् । उनको असहमतिका बाबजुद बहुमतका आधारमा यो फैसला भएको हो । गहिरो धार्मिक भावना भएका विषयमा अदातलले हस्तक्षेप गर्न नहुने र अदालतको हस्तक्षेपले अन्य धार्मिक विषयमा पनि असर पर्नसक्ने मलहोत्राको भनाइ छ ।
सबरीमाला भगवान अयप्पाको मन्दिर हो र उनी ब्रह्मचारी थिइन्, त्यसैले रजस्वला भएका महिलालाई त्यहाँ प्रवेश गर्न दिनुहुँदैन भन्ने मान्यता छ । (रासस)
प्रकाशित समय २१:४२ बजे

















