गृहपृष्ठ चिनियाँ सेनाका पूर्व प्रमुखलाई भ्रष्टाचार मुद्दामा आजीवन कारावासको सजाय
चिनियाँ सेनाका पूर्व प्रमुखलाई भ्रष्टाचार मुद्दामा आजीवन कारावासको सजाय
चिनियाँ सेनाका पूर्वप्रमुखलाई भ्रष्टाचार प्रकरणमा आजीवन कारावासको सजाय सुनाइएको छ ।
चिनियाँ जनमुक्ति सेनाका पूर्व प्रमुख फाङ फेंघुइलाई भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाएको भन्दै आजीवन कारावासको सजाय सुनाइएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।
६७ वर्षीय पूर्व सेना प्रमुख फाङ चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१७ मा भएको पहिलो भेटमा पनि उपस्थित थिए । चिनियाँ राष्ट्रपति जिनपिङको भ्रष्टाचारविरुद्धको कडा अभियानअन्तर्गत नै चीनमा उच्च पदस्थ अधिकारीहरु जेल परिरहेका छन् ।
राष्ट्रपतिको अभियान विशेषगरी विश्वकै ठूलो र आधुनिक मानिने चिनियाँ सेनामा शुद्धिकरण ल्याउने प्रयास मानिएको छ । चिनियाँ सेनाका पूर्व प्रमुख फाङ सन् २०१७ देखि सार्वजनिक रुपमा देखिएका थिएनन् । उनले सन् २०१७ मै चित्तबुझ्दो स्पष्टीकरण नदिएका कारण पदबाट हात धुनु परेको थियो ।
उनी शक्तिशाली मानिने सेन्ट्रल मिलिटरी कमिसनका सदस्य पनि थिए । उनलाई गएको वर्ष मात्रै सैनिक अदालतमा ट्रायल सुरु हुनुभन्दा पहिला कम्युनिष्ट पार्टीबाट पनि निष्काशित गरिएको थियो । सिन्ह्वाका अनुसार उनको सबै सम्पत्ति जफत गरिएको छ । तर सम्पत्ति कति हो भन्नेबारे भने केही पनि खुलाइएको छैन ।
सन् २०१२ मा सि जिनपिङ सत्तामा आएपछि झण्डै १० लाख सैनिक अधिकारीलाई कारबाही गरिएको चिनियाँ सरकारले बताएको छ ।
कारबाही भोग्नेहरुका सेन्ट्रल मिलिटरी कमिसनका पूर्व उपाध्यक्ष सु काइहो र गुओ बोक्सिओङसमेत रहेका थिए । ट्रायल सुरु हुनुभन्दा पहिले क्यान्सरका कारण सुको मृत्यु भएको थियो भने सन् २०१६ मा गुओलाई आजीवान कारावासको सजाय सुनाइएको थियो ।
प्रकाशित समय ०८:१९ बजे

















