गृहपृष्ठ केन्द्रकाे मुख ताकेरमात्र विकास हुँदैन : प्रमुख चौधरी
केन्द्रकाे मुख ताकेरमात्र विकास हुँदैन : प्रमुख चौधरी

रौतहटको चन्द्रपुर नगरपालिका आर्थिक, सामाजिक विकासतर्फ अघि बढीरहेको नगरपालिका हो । यस नगरपालिकामा हाल १० वटा वडा छन् भने, क्षेत्रफल २४९.६ वर्ग कि.मि. छ । १३ हजार ४४५ घरधुरी र ७२ हजार ५९ जनसंख्या रहेको चन्द्रपुरमा साक्षरतादर ६० प्रतिशत मात्रै छ । मध्य तराइमा अवस्थित यस नगरपालिकाले ल्याएको बजेट, हालसम्मका उपलब्धि र आगामी योजनाबारे नगर प्रमुख राम चन्द्र चौधरीसँग गरिएको कुराकानी :
बजेट कस्तो ल्याउनुभयाे ?
नगरबासीले खोजे र रोजे जस्तो योजनामा बजेट विनियोजन गर्ने हरसम्भव प्रयास गरिएको छ । सबैको चित्त बुझाउने र स्थानीय स्तरमै रोजगारीका अवसर कसरी जुटाउन सकिन्छ भन्ने हाम्रो प्रथमिकता हो । विकासका लागि सडक पहिलो सर्त हुनाले यसैलाई प्राथमिकतामा राखेका छौं । कृषि, गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा, पर्यटन र घरेलु तथा साना उद्योगको स्थापनालाई प्राथमिकतामा राखेर बजेट बनाइएकाे । बढी महत्वकांक्षी भएका छैनौं ।
बजेट निर्माण गर्दा स्थानीय र विज्ञको रायलाई कत्तिको स्थान दिइएको छ ?
हामी सबैको एक मात्र उद्देश्य कसरी हुन्छ चन्द्रपुर नगरपालिकालाई अन्य भन्दा विकसित र नमुना बनाउने भन्ने हो । यो अभियानमा सम्बन्धित क्षेत्रका विज्ञहरुको राय र स्थानीयको सहभागिता तथा सुझाव अनिवार्य सर्त हो । कायक्रम बनाउँदा स्थानीयहरुसँग व्यापक रुपमा छलफल गरिएको छ । बजेटमा मात्रै नभएर नगरका अन्य जुनसुकै कार्यमा स्थानीयको सुझाव बिना अगाडि बढेका छैनौं र त्यसो गर्नु पनि हुँदैन ।
चुनावका बेला भन्दा अहिले झन् बढि उत्साहित छु । भोट माग्दा चन्द्रपुरको कायापलट गर्छु भनेकै हो । म निराश हुनुपर्ने अवस्था छैन ।
केन्द्रले विगतमा भन्दा थोरै रकम दियो । आफैँ स्रोत खोज्न भनेको छ । अन्य विषय पनि छन् । कस्तो छ समन्वय ?
विगतमा भन्दा कम बजेट दिँदा हामीलाई अप्ठेरो परेको छ । तर, जनतालाई चुनावमा गरेको बाचा पुरा गर्नुछ । केन्द्र सरकारको मुख ताकेर मात्रै त विकास हुन्न । स्थानीय श्रोत खोज्न सक्नुपर्छ । त्यसका लागि केहि योजनाहरु बनेका छन् । घरबहाल करबाट केहि रकम जुट्ने आशा छ । अन्य श्रोतहरु पनि छन् । त्यसको खोजी र प्रभावकारी योजना बनाएर जनताको आकांक्षा र आवश्यकता बमोजिमको काम गर्ने प्रयत्न गरेका छौं । प्रयास जारी छ ।
तर, जनताहरु तपाईंहरुको एक वर्षे कार्यकालसँग सन्तुष्ट देखिँदैनन् नि !
प्रतिस्प्रधाले पनि कहिलेकाँही विकासमा अवरोध ल्याउँदो रहेछ । एउटै दलका प्रतिनिधिहरुको मात्र बहुमत नहुँदा स्कुलिङ फरक हुने र सबैलाई चित्त बुझाउन खोज्दा काममा ढिलाई हुने रहेछ । बैठकमा जनताका गुनासा भन्दा पार्टीका कुरा धेरै हुन्छन् । यो हाम्रो आन्तरिक कुरा हो । हाम्रा छलफलका विषय जनतामा जानु हुँदैन भन्ने हुँदै होइन तर कतिपय अवस्थामा त्यसले पनि नकारात्मक संदेश जाँदो रहेछ ।
केन्द्र सरकारको मुख ताकेर मात्रै त विकास हुन्न । स्थानीय श्रोत खोज्न सक्नुपर्छ । त्यसका लागि केहि योजनाहरु बनेका छन् ।
हामी निर्वाचित भएर आएको एक वर्षको अवधीमा कस्ता योजना बनाउने, कुन क्षेत्रलाई प्राथमिकता दिने भन्नेबारेका छलफलले सार्थकता पाएका छन् । बजेटले त्यसको प्रतिनिधित्व गर्छ । भौत्तिक पुर्वाधार तर्फ सडक निमार्ण, कालोपत्रे, स्वास्थ्यमा प्रभावकारी अनुगमन, कृषिमा आधुनिकीकरणका लागि विभिन्न चरणका अन्र्तक्रिया भएका छन् । हामी आउँदा जिवन जल पाइएन भन्ने गुनासो थियो तर अहिले स्टक छ ।
चुनावताका जनतासामु गरेका बाचाहरु धर्मराएका त छन् कि छैनन् ?
चुनावका बेला भन्दा अहिले झन् बढि उत्साहित छु । भोट माग्दा चन्द्रपुरको कायापलट गर्छु भनेकै हो । जनताले र राजनीतिक दलहरुले आफु अनूकुल निर्णय गराउने प्रयत्न गरेर भएपनि विकासका लागि भरपुर सहयोग गर्नुभएकै छ । म निराश हुनुपर्ने अवस्था छैन ।
बाँकी चार बर्षको अवधीमा चन्द्रपुरका सबै मूल सडक कालोपत्रे र ढलान हुनेछन् । आवश्यक खोलाहरुमा पुल निमार्ण हुनेछ । कम्तिमा ५० सैयाको अस्पताल बनाउने योजना छ । महिला फुटबल केन्द्रको निमार्ण हुँदैछ । यो ठूलो प्रोजेक्ट हो । चन्द्रपुरमै ठूलो स्टिल कारखाना पनि निमार्ण हुँदैछ ।
यसले केहि रोजगारी र खेलकुद मार्फत आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्नेछ । शीपमुलक तालिम दिने, घरेलु तथा साना उद्योग स्थापनामा नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने योजनाहरु बनेका छन् । धार्मिक पर्यटनको संभावनालाई पनि जोड दिइएको छ । यी विषय तथा योजनाहरु नीति तथा कार्यक्रम र बजेटमा समेटिएका छन् ।
प्रकाशित समय १२:५९ बजे