गृहपृष्ठ वीरगन्ज महानगर प्रमुख सरावगी भन्छन्- पार्टीबाटै असहयोग भयो
वीरगन्ज महानगर प्रमुख सरावगी भन्छन्- पार्टीबाटै असहयोग भयो
पार्टीबाटै काम गर्ने वातावरण बिथोलिएको भन्दै राजीनामा दिने मनस्थितिमा
पार्टीले नै काम गर्ने वातावरण बिथोलेको भन्दै वीरगन्ज महानगर प्रमुख विजय सरावगी पार्टी नेतृत्वप्रति असन्तुष्ट बनेका छन् । महानगरपालिकाका काम-कारबाहीमा कुनै किसिमको सहयोग नभएको भन्दै उनले पार्टी नेतृत्वप्रति असन्तुष्टि पोखेका हुन् ।
वीरगन्जबासीलार्इ पटक-पटक मधेस अान्दोलनको थलाे बनाइए पनि अवसर अाउँदा यहाँका जनताको पक्षमा कुनै पनि काम गर्न नसक्नु नदिइनु दुखद भएको प्रमुख सरावगीले बताए । ‘महानगरमा कुनै पूर्वाधार छैनन्, महानगरबासीले कुनै सेवा सुविधा पाएका छैनन्, महानगरमात्र घोषणा गरिएको छ,’ सरावगीले न्युज कारोबारसँग भने, ‘वीरगन्ज नगरपालिकाको नेतृत्व गर्ने अवसर पाएर पनि यहाँका बासिन्दाका लागि केही गर्न सकिँदैन, पार्टीले कुनै जिम्मेबारी बोध गर्दैन भने काम गर्न कसरी सकिन्छ ?’
अाफ्नै हिसाबले काम गर्न खोज्दा पनि पार्टीको दबाब र तनाव झेल्नुपरेको उनले गुनासो गरे । वीरगन्ज महानगरपालिकालार्इ सधैं अान्दोलनको थलो नबनाउँ, विकास जुटाैं भन्दा पनि कुनै सुनुवाइ नभएको प्रमुख सरावगीले बताए । ‘केन्द्र, प्रदेश र स्थानीय तह तीन ठाउँमा पार्टी सरकारमा छ,’ उनले भने, ‘तर विकासका नाममा कुनै किसिमको सहयोग भएको छैन, अहिलेको अवसरलार्इ पनि सदुपयोग नगर्ने हो भने वीरगन्जको विकास कहिले हुन्छ ?’
विकास र समृद्धिका चर्का कुरा गर्ने तर योजना र बजेटिङमा कुनै पहल नगर्ने नेतृत्वका कारण काम गर्ने वातावरण झनै बिग्रिएको उनले बताए । ‘जनतालार्इ चुनावका बेला बाँडिएका अाश्वासन पूरा गर्नुपर्ने दायित्व हामीसामु छ,’ न्युज कारोबारसँग सरावगीले भने, ‘तर एक वर्षसम्म कुनै काम गर्न नसक्दा स्थानीयमा असन्तुष्टि बढेकाे छ, यसकाे एउटा कारण पार्टी पनि हो ।’ हामीसँग कुनै पनि बहानामा विकास र समृद्धिबाट भाग्ने सुविधा नरहेको उनको भनाइ छ ।
व्यवसायी सरावगी संघीय समाजवादी फोरमबाट वीरगन्ज महानगर प्रमुखमा निर्वाचित भएका थिए ।
प्रकाशित समय १०:२५ बजे