गृहपृष्ठ नगरपालिका झिलिमिली पार्ने योजनासहित कनकाई नगर प्रमुख काठमाडौंमा
नगरपालिका झिलिमिली पार्ने योजनासहित कनकाई नगर प्रमुख काठमाडौंमा
नगरपालिकाका करिब दुई हजार घर-परिवार विद्युतीकरणबाट वञ्चित
नगरपालिकाभित्रका सबै घरमा विद्युतीकरण गर्ने योजना बोकेर कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल काठमाडौं आइपुगेका छन् । कनकाई नगरपालिकामा बिजुलीका पोल, ट्रान्सफर्मर र तारको व्यवस्था गर्न उनी काठमाडौं आएका हुन् ।
त्यसका लागि नगर प्रमुख पोखरेलले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग शनिबार भेट गरिसकेका छन् । ‘ठूलो योजना भएकाले विद्युत प्राधिकरणसँग समन्वय र सहयोग खोजेका हौं,’ उनले भने, ‘उहाँले सहयोग गर्ने बचन दिनुभयो । आशा छ, चाँडै सम्पूर्ण नगरबासीले विद्युत उपभोग गर्न पाउनेछन् ।’
नगर क्षेत्रमा विद्युतीकरणका लागि नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा गरी दुई करोड ४६ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । नगरपालिकाले विद्युतीकरणका लागि ९०० वटा बिजुलीका पोल, ३० वटा ट्रान्सफर्मर र बिजुलीको तार (हाइटेन्सन) खरिद गर्न करिब साढे ७ करोड रुपैयाँ लागत अनुमान गरेको छ ।
कनकाई नगरपालिकाभित्र करिब १० हजार घरधुरी छन् । नगरपालिकाले विद्युतीकरणलाई बढी प्राथमिकता दिएको छ । ‘कसरी हुन्छ, सकेसम्म यही आर्थिक वर्षभित्र सबैलाई उज्यालो बाँड्नेछौं,’ नगर प्रमुख पोखरेल भन्छन्, ‘आर्थिक अवस्था कमजोर भएकालाई मिटर जडानमा सहयोग गरेर भए पनि बिजुली बालिदिन्छौं ।’
कनकाई नगरपालिकाका सूचना अधिकृत हरिप्रसाद मिश्रका अनुसार २५ प्रतिशत घर विद्युत सेवा उपभोग गर्नबाट वञ्चित छन् । ‘नगर क्षेत्रका करिब दुई हजार घरले बिजुली बाल्न पाएका छैनन्,’ उनले भने, ‘खासगरी वडा नम्बर ५, ६, ७ र ९ तथा २ नम्बर वडाका केही घर विद्युत सेवाबाट वञ्चित छन् ।’
नगरपालिकाले विद्युतीकरणसँगै विकासका अन्य पूर्वाधार सडक, खानेपानी एवं कृषिलाई पनि विशेष प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । गत वर्षमात्र नगरपालिकाले करिब ७५ किलोमिटर सडक ग्राबेल गरेको छ । ‘कनकाईका बासिन्दालाई नगरबासी हौं भन्ने आभाष दिलाउनु हाम्रो मूल दायित्व हो,’ नगर प्रमुख पोखरेल भन्छन्, ‘त्यसका लागि स्थानीयबासीकै साथ र सहयोग लिएर समृद्धिको रेखा कोर्छौं, समृद्धिको एउटा सूचक विद्युतीकरण भएकाले त्यसलाई बढी फोकस गरेका हौं ।’ नगरपालिकाको विकास अभियानमा सम्पूर्ण नगरबासीले साथ दिइरहेकाले पनि उनी उत्साहित देखिएका छन् ।
प्रकाशित समय १७:३३ बजे

















