गृहपृष्ठ जनकपुरमा नगर प्रहरी र अमिनविरुद्ध नारावाजी

जनकपुरमा नगर प्रहरी र अमिनविरुद्ध नारावाजी

जनकपुरधाम उपमहानगरपालिका-४ महाविर चोकमा बिना जानकारी अचानक घरमा डोजर लगाएको र त्यसको विरोध गर्दा कुटपिट गरेको विरोधमा स्थानीय युवाहरुले जनकपुरधाम उपमहानगरपालिकाविरुद्ध नाराबाजी गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

सडक विस्तारका क्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रिता झाको नेतृत्वमा बिना सूचना अचानक स्थानीय शिवनाथ साह, राजेश साह, जगरनाथ साहको घरमा डोजर लगाएपछि त्यसको विरोध गर्दा गालीगलौज र कुटपीट भएको भन्दै स्थानीय आक्रोशित बनेका हुन् । जगरनाथ साहको छोरा भरत साह र महेश साहमाथि जनकपुरका नगर प्रहरी रञ्जित राय र सुमन झा तथा अमिन सञ्जिव चौधरीले हेल्मेटले कुटपिट गरेको उनीहरूको आरोप छ ।

त्यस्तै जथाभाबी गालीगलौज पनि गरेको भन्दै महावीर युवा कमिटीका महासचिव अजय गुप्ता र तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साहको नेतृत्वमा उपमहानगरविरूद्ध नारावाजी भएको हो ।

घरमा मान्छे भएको बेला अचानक घरमा डोजर लगाउनु मानवीय हिसाबले समेत अशोभनीय भएको स्थानीय युवा नेता राकेश विक्रम साहले बताए । एक त जनकपुरधाम उपमहानगरपालिकाभित्र सडक फराकिलो पार्ने क्रममा बिना अचानक घरमा डोजर लगाउनु अपराधिक क्रियाकलाप गरेको उनको भनाई छ ।

स्थानीय युवाहरुले जनकपुरधाम उपमहानगरपालिकाको नगर र अमिनलाई कारबाहीको माग गर्दै आन्दोलित भएका छन् ।

उनीहरूले नगर प्रहरीको दमन चल्दैन भनी चर्को नाराबाजी गर्दै नगर प्रहरी र अमिनमाथि कारबाही नभएसम्म प्रदर्शन जारी रहने बताए ।

प्रकाशित समय १९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु