गृहपृष्ठ अन्तर्राष्ट्रिय सम्मान समारोह सम्पन्न

अन्तर्राष्ट्रिय सम्मान समारोह सम्पन्न

काठमाडौं– नेपाल तथा बंगलादेशबीच साहित्यिक एवं सांस्कृतिक विषयवस्तुको माध्यमबाट आपसी सम्बन्ध विकास गर्ने उद्देश्यले विश्व अनुवाद समाजले अन्तर्राष्ट्रिय सम्मान समारोह आयोजना गरेको छ । कार्यक्रममा बंगलादेशबाट विभिन्न विधाका १६ जनाको सहभागिता रह्यो ।
वरिष्ठ साहित्यकार एवं पूर्वशिक्षामन्त्री मोदनाथ प्रश्रितको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बंगलादेशको साहित्य, कला, संस्कृति एवं सामाजिक जीवनका बहुआयामिक पक्षमा योगदान पुर्याएका व्यक्तित्वहरु मो. सहाजहान आलम साजु, सिराजुल मुस्तफा, अधिवक्त सामसिया वेगम, महाताफ उद्दिन विश्वास, दिलवार हुसेन, एम. ए. मन्नान पटवारी, नजदुल हसन सरदार, सलाउद्दिन भुइया, मो. इम्दादुल हक तैयव आदिलाई पदक, प्रमाणपत्र, नेपाली टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको छ । सोही अवसरमा नेपाली साहित्य एवं विविध विधामा योगदान पुर्याउने राष्ट्रिय सभा सदस्य धना खतिवडा, कथाकार माया ठकुरी, राष्ट्रिय संस्थानका महाप्रबन्धक राजेश थापा तथा कवि एवं कार्यक्रमका भाषा अनुवादक सुभद्रा भट्टरार्इलार्इ बंगलादेशको तर्फबाट सम्मान गरिएको छ ।


वरिष्ठ कथाकार ठकुरी, राष्ट्रियसभाका सांसद खतिवडा, प्राज्ञ मातृका पोखरेल, राष्ट्रिय नाचघरका महाप्रबन्धक थापा, भारतमा रहेर साहित्यिक अनुसन्धानमा क्रियाशील कृष्ण भुजेल, गायक तथा गजलकार रामबहादुर पहाडीलगायतका वरिष्ठ कवि एवं सर्जकहरुले यस्ता सम्मान कार्यक्रमले नेपाल र बंगलादेशबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गरे । वक्ताहरुले दुवै देशको कला, साहित्य र संस्कृतिको विकासका लागि यस्ता कार्यक्रमको अहं भूमिका रहने धारणा राखे । अन्तर्राष्ट्रिय कार्यक्रम संयोजक मो. इम्दादुल हक तैयवले नेपाली तथा बंगला साहित्यलाई अनुवादका माध्यमले दुवै देशमा पु¥याउनुपर्ने बताए । त्यस्तै, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले चाँडै नेपाल–बंगलादेश सांस्कृतिक उत्सव आयोजना गर्नेबारे जानकारी गराए ।

कार्यक्रममा पूर्वशिक्षामन्त्री प्रश्रित, सांसद खतिवडा, विश्व अनुवाद समाजका महासचिव ऋषभदेव घिमिरेलगायतले नेपाल–बंगलादेशको कला, साहित्य र संस्कृति आदानप्रदानबारे धारणा राखे । सम्मान समारोहपश्चात नेपाल तथा बंगलादेशका कवि एवं सर्जकहरुले कविता बाचन गरे । कार्यक्रममा कृष्ण भुजेल, ललिता दोषी, सन्तोष पोखरेल, निर्मल पराजुली, र ञ्जु दाहाल, सविन लम्साल, अञ्जना पौडेल, दुर्गा तिवारी, अश्विन समिप, सुभद्रा भट्टराईलगायतका नेपाली कवि एवं सलाउद्दिन भुइया, सहारियार सयनलगायतका बंगाली सर्जकले कविता तथा गीत वाचन गरेका थिए ।

 

प्रकाशित समय २२:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु