गृहपृष्ठ समाजकल्याण परिषदका निर्देशककै दोहोरो नागरिकता, कारवाही हुनुको साटो उल्टै जिम्मेवारी
समाजकल्याण परिषदका निर्देशककै दोहोरो नागरिकता, कारवाही हुनुको साटो उल्टै जिम्मेवारी
काठमाडौं– दोहोरो नागरिकता लिएको अभियोगमा छानबिनमा तानिएका समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतलाई विभागीय मन्त्रीले काखी च्याप्दा अनुसन्धान फितलो भएको छ ।
७ वैशाखमा दोहोरो नागरिकता लिएको भन्दै निर्देशक बस्नेतविरुद्ध लिखित उजुरी परेको थियो । महिला बालबालिका, महिला र जेष्ठ नागरिकमन्त्री थममाया थापामगरले निर्देशक बस्नेतको उजुरीमाथि छानबिन अगाडि बढाएकी छैनन् ।
छानबिनमा परेका बस्नेतलाई कारबाही गर्नुको सट्टा योजना शाखा र प्रशासन शाखाको दोहोरो जिम्मेवारी दिएपछि परिषदमा असन्तुष्टि बढेको छ ।
‘किर्ते नागरिकताको अभियोगमा छानबिनमा राखेर कारबाही गर्नुपर्ने मानिसलाई उल्टै महत्वपूर्ण जिम्मेवारी दिइएको छ,’ परिषदका एक कर्मचारीले भने, ‘मन्त्री र सचिवबीच पैसाको चलखेल नभएको भए किन थप जिम्मेवारी दिइयो ? यो शंकास्पद छ ।’
नागरिकतामाथि छानबिन भइरहेको बेला प्रशासन शाखाको जिम्मेवारी दिएर मन्त्रीले किर्ते अभियोगमा जोगाउन खोजेको परिषद्का कर्मचारी बताउँछन् ।
पहिलो नागरिकताअनुसार सेवामा प्रवेश गरेकाले अवकाश पाइसक्नुपर्ने व्यक्ति दोस्रो नागरिकताअनुसार पदवहालमा नै रहेको भन्दै नवीन योगीले ७ वैशाखमा जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए । योगीको उजुरीमा निर्देशक बस्नेतले ललितपुरको तत्कालीन सुनाकोठी गाविसबाट दुईवटा नागरिकता लिएको प्रमाणको प्रतिलिपि राखिएको छ । झुटो नागरिकता विवरण बनाएर एक वर्ष बढी जागिर खान खोजेको आरोप लगाउँदै योगीले छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।
उजुरीमा उल्लेख भएअनुसार बस्नेतले सुरुमा लिएको नागरिकता प्रमाणपत्रको नम्बर १२६९÷०३५÷३६ रहेको छ भने अर्को नागरिकता प्रमाणपत्रको प्रतिलिपिमा भने २÷२०५ नम्बर उल्लेख गरिएको छ । निर्देशक बस्नेतले नागरिकतामा दुईवटा नम्बर मात्रै होइन, प्रतिलिपि बनाउँदासमेत जन्ममिति पनि एक वर्ष घटाइएको उजुरीमा उल्लेख गरिएको छ । जसअनुसार २०३५ साल चैत २८ गते नागरिकता लिदाँ सो नागरिकतामा १८ वर्ष उमेर खुलाइएको देखिन्छ भने दोस्रोपटक २०४४ माघ ११ गते प्रतिलिपि बनाउँदा भने १०१८ असार १५ को मिति राखिएको छ ।
उक्त उजुरीपछि जिल्ला प्रशासन कार्यालय, ललितपुरले ४७७२ नम्बरमा दर्ता गरेको थियो । तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली सोही फरकफरक जन्ममितिको नागरिकताका कारण बर्खास्त हुनु परेको थियो । निर्देशक बस्नेतलाई पनि वर्खास्त गर्नुपर्ने माग योगीले राखेपछि जिल्ला प्रशासन कार्यालयले पत्र काटेर बयान लिएको छ ।
तर, प्रजिअलाई समेत प्रभावित पारेर किर्ते काण्डबाट उम्कन खोजिरहेका बस्नेतलाई भने मन्त्रीले काखी च्यापेर थप जिम्मेवारी दिएपछि परिषदमा खैलाबैला भएको छ । मन्त्री थापाले निर्देशक बस्नेतलाई च्याप्ने तथा बस्नेत स्वयंले प्रजिअ कार्यालयलाई प्रभावित बनाउन थालेपछि सर्तकर्ता केन्द्रमा अर्को उजुरी हालिएको छ । जसअनुसार सर्तकर्ता केन्द्रले परिषद्मा गत १० वैशाखमा पत्र लेखी सोबारे जानकारी दिन भनिएको छ ।
‘दोहोरो नागरिकता लिई आर्थिक अनियमितता एवं भ्रष्टाचार गर्ने समाजकल्याण परिषद्को कामु निर्देशक शिवबहादुर बस्नेतलाई कारबाही गरी पाऊँ भनी यस केन्द्रमा प्राप्त उजुरी निवेदनको छायाप्रति यसै साथ संलग्न छ,’ केन्द्रको पत्रमा भनिएको छ । केन्द्रका शाखा अधिकृत ध्रुवप्रसाद ढोडारीले पत्र काटेको २० दिन भइसक्दा पनि परिषद्ले अझै नदिएको बताए ।
प्रकाशित समय ०७:४५ बजे

















