गृहपृष्ठ प्रदेश प्रमुख कोइरालाको अभिनन्दन
प्रदेश प्रमुख कोइरालाको अभिनन्दन
चितवन- प्रदेश ३ की प्रमुख अनुराधा कोइरालाले महिला र बालबालिकाको बेचबिखन रोक्न सबै एकजुट हुनुपर्ने बताएकी छिन् । आदर्शनारी विकास केन्द्र चितवनको रजत महोत्सवका अवसरमा बुधबार चितवनको नारायणगढमा आयोजित अभिनन्दन, सम्मान तथा रजत महोत्सव समापन समारोहमा उनले बेचबिखनविरुद्ध एकजुट हुन सबैलाई आह्वान गरिन् ।
‘आउनुहोस् प्रदेश प्रमुखको हैसियतले र अभियान्ताको हैसियतले तपाईसँग हात जोडेर के भन्न चाहन्छु भने हामी एकजुट हौँ,’ प्रदेश प्रमुख कोइरालाले भनिन्, ‘सबै एकजुट भएर हामी लाग्यौँ भने नेपाललाई बालबालिका र महिला बेचबिखनमुक्त गराउन सक्छौँ ।’
कार्यक्रममा उक्त संस्थाले महिला बालबालिकाको बेचबिखनविरुद्ध अभियान चलाएर उत्कृष्ट काम गरेकामा उच्च मूल्यांकन गर्दै कोइरालालाई दोसल्ला ओढाएर कदरपत्रसहित अभिनन्दन गरेको थियो । यसअघि उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पाइसकेकी छिन् । कार्यक्रममा सामाजिक अभियानमा लाग्ने विभिन्न क्षेत्रका व्यक्तिलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले उक्त केन्द्रले सराहनीय काम गरेको भन्दै हिंसा र बेचबिखन रोक्न सबै लाग्नुपर्नेमा जोड दिइन् । उनले भरतपुर महानगरमा नेतृत्व सम्हाल्नु अवसर र चुनौती भएको औँल्याउँदै नमूना शहरका रूपमा विकास गर्न लागिएको बताइन् ।
महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख शान्ता पौडेलले महिला अघि बढ्नका लागि चुनौतीको सामना गर्नुपर्ने विचार व्यक्त गरिन् ।
प्रकाशित समय ०७:४० बजे

















