गृहपृष्ठ बिरूवा उत्पादनमा कमी, वृक्षाराेपण कार्यक्रम प्रभावित हुने
बिरूवा उत्पादनमा कमी, वृक्षाराेपण कार्यक्रम प्रभावित हुने
राैतहट- यस वर्ष रौतहटमा वृक्षरोपणका लागि बिरुवाको अभाव हुने भएको छ । विगतको वर्षभन्दा यस वर्ष बिरुवा उत्पादन आधा घटेपछि बिरुवाको अभाव हुने भएको हो ।
गत वर्ष १० लाखभन्दा बढी विभिन्न जातका बिरुवा उत्पादन गरेको जिल्ला वन कार्यालय रौतहटले यस वर्ष साढे ४ लाख मात्रै बिरुवा उत्पादन गर्ने भएको छ । गत वर्ष जिल्लाका विभिन्न स्थानबाट १० लाख बिरुवा उत्पादन गरी उपभोक्तालाई वितरण गरेको जिल्ला वन कार्यालय रौतहटले यस वर्ष बजेट कम भएको भन्दै थोरै मात्रै बिरुवा उत्पादन गरेको जिल्ला वन कार्यालय रौतहटका जिल्ला वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिए ।
जिल्ला वन अधिकृत कोइरालाका अनुसार गत वर्ष बहुसरोकारका कार्यक्रम भएकाले उत्पादन पनि धेरै थियो । यस वर्ष सरकारी बजेट कम हुनुका साथै गत वर्ष भएको कार्यक्रम नभएकाले पनि बिरुवा उत्पादन कम भएको उनले स्पष्ट पारे । यसका साथै बिरुवा उत्पादनको बजेट स्थानीय तहमा गएकाले पनि जिल्ला वन कार्यालयमा बजेट कम भएको उनले जानकारी दिए । बिरुवा उत्पादनका लागि बजेट स्थानीय तहमा गएको भएता पनि स्थानीय तहले बिरुवा उत्पादन गर्न नसक्दा बिरुवाको अभाव स्वतः हुने भएको हो ।
बिरुवा उत्पादनबारे कटहरिया र गुजरा नगरपालिकाले मात्र समन्वय गर्न आएको तर अन्य स्थानीय तहले कुनै चासो नदिएको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०७२/७३ मा १७ लाख बिरुवा उत्पादन भएको थियो ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत २ लाख र वन दशक कार्यक्रमअन्तर्गत साढे २ लाख ५० हजार गरी ४ लाख ५० हजार बिरुवा उत्पादन भइरहेको जिल्ला वन कार्यालय विकास फाँटका सहायक वन अधिकृत अखिलेशकुमार गुप्ताले जानकारी दिए । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत जिल्ला वन कार्यालयको नर्सरी चन्द्रनिगाहपुरमा १ लाख र जंगलसहिया इलाका वन कार्यालयको नर्सरीमा १ लाख बिरुवा उत्पादन भइरहेको गुप्ताले जानकारी दिए ।
त्यसैगरी, वनदशक कार्यक्रमअन्तर्गत २ लाख बिरुवा खरिद र ५० हजार गौर नर्सरीमा बिरुवा उत्पादन हुँदै गरेको उनले बताए । हाल उत्पादित बिरुवा स्थानीय उपभोक्ता र सामुदायिक वनको मागअनुसार ज्यादै कम हो ।
कार्यालयले प्रायः बहुउद्देश्यीय प्रजातिका बकाइनो, बडहर, टाँकी, मसलालगायतका बिरुवा उत्पादन गर्दै आएको छ । जिल्लाको अतिक्रमित क्षेत्र तथा चुरे क्षेत्रमा वृक्षरोपण गर्ने लक्ष्यका साथ बिरुवा रोपिएको हो । जिल्लाको जुडिबेला, पौराइ, गैंडाटार, चन्द्रनिगाहपुर, हिलेखोला, रंगपुर क्षेत्रका सामुदायिक वन, निजी वन, राष्ट्रिय वनमा बिरुवा रोप्ने योजना रहेको वन अधिकृत कोइरालाले जानकारी दिए ।
हरेक वर्ष जिल्ला वन कार्यालयले जिल्लाका विभिन्न स्थानमा बिरुवा उत्पादन गरी उपभोक्तालाई निःशुल्क रूपमा वितरण गर्दै आएको छ । तर, कार्यालयले बिरुवा उत्पादन गरी वितरण गरे पनि कति बिरुवा हुर्किएका छन् ? यसबारेमा अनुगमन र निरीक्षण हुन नसक्दा हरेक वर्ष बिरुवा मात्रै उत्पादन र वितरण भइरहेको स्थानीयको गुनासो छ ।
प्रकाशित समय ०७:३० बजे

















