गृहपृष्ठ सडक माग्दै ७८ वर्षीय वृद्ध अनसनमा

सडक माग्दै ७८ वर्षीय वृद्ध अनसनमा

बैतडी- चार दिन भयो ७८ वर्षीय  हरीजीत सिंह टेर आमरण अनशनमा छन् । मास्तिर खेतका कान्ला छन् । गरामा उनी प्लास्टिकको ओतमा अनशन बसेका छन् । अनशन किन ? उनको उत्तर छ– ‘सडकमा गाडी गुडेको देख्न पाऊँ !’

जीवनको उत्तरार्धमा उनको धोको आफ्नै गाउँमा पिच सडक, त्यसमाथि गाउँलेले सुविधा उपभोग  गर्दै चढेको मोटर देख्ने रहर छ । उनी सोमबारदेखि सरकारसँग सडक सुविधाको माग गर्दै अनशन बसेका छन् । 

मंगलबार सरकारले बजेट ल्यायो तर उनको गाउँमा मोटर पुग्ने घोषणा गरेन । दशरथचन्द नगरपालिका–१ का सिंह भन्छन्, ‘सडकको सर्भे भयो तर मोटर गुड्ने चाँजोपाँजो मिलेन । सरकारले देख्छ कि भनेर अनशन बसेको हुँ ।’

यस वडाको गुरु खोलादेखि खालसम्मको सडक सिंहलाई चाहिएको छ । सडकका लागि विनियोजन भएको रकम पनि अन्यत्रै खर्च गर्न लागिएको उनले सुने । थप्छन्, ‘त्यसपछि थामिन सकिनँ । विकासको बजेट कटाउने ? यस्तो गर्न पाइन्छ र ?’

गुरुखोलादेखि खालसम्मको सडक निर्माण गर्न १४ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको थियो । तर, सडकका लागि स्थानीयले जग्गा दिएनन् । ‘जग्गा नै नभएपछि सडक खन्ने काम भएन,’ वडाध्यक्ष भुवनप्रसाद भट्ट भन्छन्, ‘रकम विनियोजन भएको १० महिना बित्यो, उपभोक्तालाई पटक–पटक वडामा बोलाएर छलफल पनि गर्यौं । सडकमा जग्गा पर्नेेले सहयोग गरेनन् ।’

सडक चाहिनेसँग जग्गा माग्दा सहमत नभएपछि छिमेकी गाउँ जाने सडकमा रकमान्तर गरेको उनी बताउँछन् । भन्छन्, ‘सडक विस्तार हाम्रो पनि लक्ष्य हो, अझै हामी बनाउन तयार छौं ।’ सिंह सडक नबनेसम्म अनशन जारी राख्ने बताउँछन् । उनको स्वास्थ्य कमजोर बन्न थालेको छ । स्थानीय तहका प्रमुख उप्रमुखले ध्यान दिन सकेका छैनन् । सिंह थप्छन्, ‘विवाद मिलाउने काम मेरो होइन, सडक कसरी ल्याउनुपर्छ, सरकारले जान्ने हो । यसैले सरकार गम्भीर बनोस् ।’

यो उनको रहर मात्र होइन, भावी पुस्ताले उपभोग गर्ने सुविधाका लागि गरिएको सत्याग्रह हो । ‘म त डाँडापारिको घाम भइसकेको छु । तर, सडक बन्दा भोलि नातिनातिनाको पुस्ताले सुविधा पाउँछ भन्ने रहर मात्र हो,’ उनी थप्छन्,‘हामीले यही बाटोमा पैदल हिँडेर युग बितायौं । अबको पुस्ताले बिताउन नपरोस् ।’

प्रकाशित समय ०९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु