गृहपृष्ठ १७ हजार कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

१७ हजार कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

Property_NewsKarobar

देशभरि विभिन्न निकायमा नियुक्त भएका वा निर्वाचित पदाधिकारी १७ हजारले सम्पत्ति विवरण नबुझाएपछि तिनीहरूमाथि ५ हजारका दरले जरिवाना हुने भएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले हालै सार्वजनिक गरेको ‘सम्पत्ति विवरण अनुगमन प्रतिवेदन’ अनुसार आर्थिक वर्ष २०७५/६७ मा देशभरि कार्यरतमध्ये १७ हजार १८५ जनाले सम्पत्ति विवरण बुझाएनन् । यीमध्ये नेपाली सेनाका ४६० र नेपाल प्रहरीका १११ जना छन् ।

उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम ५ हजार जरिवानाका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाइएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।

प्रतिवेदनअनुसार सम्पत्ति विवरण नुबझाउनेमा संघीय सरकारमातहत १२ हजार १३३ जना, प्रदेश सरकारमातहतका ५५४ जना र स्थानीय तहमातहतका ४ हजार ४९८ जना छन् ।

सार्वजनिक पदमा बहाल रहेका सुरु नियुक्तिको ६० दिनभित्र र हरेक आर्थिक वर्षमा कानुन बमोजिम सम्पत्ति विवरण पेश गर्नुपर्ने व्यवस्था भए पनि हरेक वर्ष औसत ७ हजार जनाले नै अटेरी गरेर सम्पत्ति विवरण नबुझाएको केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।

आव २०७४/७५ मा पनि १७ हजार १२७ जनाले सम्पत्ति विवरण बुझाएका थिएनन । यद्यपि, सम्पत्ति विवरण बुझाउनेको संख्यामा वृद्धि भएको सतर्कता केन्द्रले जनाएको छ ।

एउटा स्थानीय तहले पटक पटक पत्राचार एवं फोन सम्पर्क गर्दा समेत सम्पत्ति विवरण बुझाए/नबुझाएको अभिलेख सम्बन्धी तथ्यांक अनलाइन सफ्टवेयरमा तथ्यांक प्रविष्टि नगरेको एवं पत्र मार्फत समेत जवाफ नदिएकाले त्यो स्थानीय तहमाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ । सतर्कता केन्द्रले स्थानीय तहको नाम भने खुलाएको छैन ।

सतर्कता केन्द्रका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका ९७ निकायमा कार्यरत कर्मचारीको सम्पत्ति विवरणको तथ्यांक प्रविष्टि भएको नदेखिएकाले एकमुष्ट रुपमा कारवाही गर्नका लागि अख्तियारमा सिफारिस गरिएको छ ।

सम्पत्ति विवरण नबुझाउनेहरूः

  नबुझाउनेको स‌ंख्या कैफियत
१.१ निजामती कर्मचारी २५०४  
१.२ नेपाली सेना ४६०० ४६० जना विदेशमा रहेका
१.३ नेपाल प्रहरी १११  
१.४ विद्यालय शिक्षक कितावखाना ७६२६  
१.५ अन्य (नं.१.१-१.४ बाहेक) १४३२  
जम्मा 1१२१३३  
प्रदेश तह ५५४  
स्थानीय तह (पालिका) ४४६३  
स्थानीय तह (जि.स.स.) ३५  
कूल जम्मा १७१८५  

 

प्रकाशित समय १३:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु