गृहपृष्ठ बलात्कारका घटनामा ‘न्यायको अवसान’
बलात्कारका घटनामा ‘न्यायको अवसान’
बझाङको मष्टा गाउँपालिका २ की सम्झना कामीको बलात्कारपछि बीभत्स हत्या भएको आज आठ दिन बितेको छ । प्रहरीले पीडित परिवारले किटानी जाहेरी दिएपछि मस्टा २ खिकालाका १८ वर्षीय किशोर राजेन्द्र बोहरालाई नियन्त्रणमा लिएर सार्वजनिक गरिसकेको छ ।
विगतमा अनेक घटनामा मुछिएको, पटक-पटक अनैतिक सम्बन्धको प्रयास गरेको, स्थानीयलाई धम्की दिने, चोरी गर्ने, बलात्कारजस्ता घटनामा मुछिएका बोहरा नै पीडक भएको भन्दै पीडित परिवारले जाहेरी दिएका हुन् । पक्राउपछि सार्वजनिक गरिएका बोहराले भने अहिलेसम्म हत्या गरेको स्वीकार्ने संकेत पनि देखाएका छैनन् ।
राजेन्द्रको विगत राम्रो छैन । विवादमा मुछिँदै, गाउँमा बस्ने पञ्चायतबाट सफाइ पाउँदै आएको प्रहरी अनुसन्धानले देखाएको छ । स्थानीयका अनुसार बोहराले साउन २६ मा खिकालाकै १४ वर्षीया किशोरीलाई बलात्कार गरेको घटनालाई गाउँमै कागज बनाएर मिलाइएको थियो ।
साँझ ५ बजेतिर पानीघट्टमा अन्न पिस्न गएकी किशोरीलाई करणी गरेको भन्दै परिवारले पञ्चायती बसाले र पाँच सय जरिवाना गराएर घटना गाउँमै मिलाइयो । दुवै पक्षबीच भएको मिलापत्रमा राजेन्द्रका बुवा र बालिकाका दाजुसहित ६ जनाले हस्ताक्षर गरेका छन् । मिलापत्रमा गर्भ रहेमा किशोर बोहराले जिम्मा लिने व्यहोरा उल्लेख छ । अहिले प्रहरीले त्यो घटनाका पीडित परिवारलाई उजुरी दिन आग्रह गरेको छ ।
सम्झनाको हत्या सिमदेवता मन्दिरमा भएको हो । एउटी बालिकालाई मन्दिरभित्र लगेर बलात्कार र हत्या गर्नु ‘सामान्य’ मान्छेका लागि कल्पनाबाहिरको कुरा हो । सामाजिक सञ्जाल प्रयोगकर्ताले बलात्कारीलाई मृत्युदण्ड वा लिंगछेदनको माग गरिरहेका छन् ।
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारालाई कारबाही नहुँदै बझाङमा भएको अर्को बीभत्स घटनाले देशभरका छोरीहरूको सुरक्षाका विषयमा फेरि गम्भीर चासो बढ्न थालेको छ । अपराधीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने भन्दै ठाउँ-ठाउँमा सडक प्रदर्शन भइरहेका छन् । अधिकारकर्मीहरूले यो घटना प्रकरणमा ‘सम्झना दोस्री निर्मला नबनुन्’ भनेर सचेत गराइरहेका छन् । बलत्कारविरुद्ध कडा कानुन नभएकै कारण घटना दोहोरिने गरेको महिला अधिकारकर्मीहरु बताउँछन् ।
बलात्कार र हत्यामा न्याय नपाएर थाकेकाहरुको सूची लामै बनिसकेको छ । सरकारले यस्ता जघन्य आपराधिक घटना निरुत्साहित गर्न कडा कानुन ल्याउन अझै चासो देखाएको छैन ।
कञ्चनपुरकी निर्मला पन्त
सम्झना कामीको घटनासँगै कञ्चनपुरकी किशोरी निर्मला पन्तमाथिको क्रुर हत्याकाण्ड पनि जोडिएको छ । २०७५ साउन १० गते साथीको घरमा पढ्न गएकी भीमदत्त नगरपालिका उल्टाखामकी किशोरी निर्मलाको बलात्कारपछिको हत्यामा राजनीतीकरण हुँदा अहिलेसम्म पीडितले न्याय पाएका छैनन् ।
पीडित परिवारले सरकारका हरेक निकाय गुहार्यो । लामो समय कञ्चनपुर आन्दोलित बन्यो । आन्दोलनकै क्रममा स्थानीय एक किशोर सनी खुनाको प्रहरीको गोली लागेर मृत्युसमेत भयो । सामाजिक संस्थाहरुको अगुवाइमा निर्मलाका आमाबुवा यज्ञराज÷दुर्गादेवी न्यायकै लागि अनसन बसे । तर, दुई वर्ष बित्दा पनि न्याय पाएका छैनन् ।
बलात्कारका घटनामा पञ्चायती
बलात्कार जस्तो जघन्य अपराधमा गाउँमै पञ्चायती बसेको बझाङमा मात्रै होइन । असोज १ गते बारामा भएको बलात्कारको घटना मिलाउन गाउँमै पञ्चायती बसेको थियो । सुवर्ण गाउँपालिका ५ ओरैयाकी १२ वर्षीया बालिकामाथि भएको घटना मिलाउन गाउँमै पञ्चायती बसेर ढिसमिस पार्ने अवस्थामै थिए ।
सोही स्थानका २२ वर्षीय शिवपुजन यादवले बलात्कार गरेका थिए । त्यो घटना गाउँमै मिलाउने भन्दै बसेको पञ्चायतले गरेको निर्णय चित्त नबुझेपछि पीडित परिवार बल्ल प्रहरीसमक्ष पुग्यो ।
तराई मधेसमा बलात्कारका घटना गाउँमै मिलाउन खोजिएका थुप्रै उदाहरण छन् । केही दिनअघि सप्तरीको डाकनेश्वरी नगरपालिका ७ की १७ वर्षीया किशोरी बलात्कृत हुँदा पनि गाउँमै पञ्चायती बसेर मिलाउन खोजिएको थियो । पञ्चायतले बलात्कारको उजुरी गर्न नदिएपछि ती किशोरीले आत्महत्या नै गरेकी थिइन् ।
२०७५ भदौमा रौतहटको गढीमाई नगरपालिका ३ की १२ वर्षीया बालिकालाई गाउँकै ५५ वर्षीय सहमद अन्सारीले करणी गरेपछि घटना मिलाउन बसेको पञ्चायत टोलीले आर्थिक प्रलोभनमा घटना दबाउन कोसिस गरेको थियो । रौतहट ४ ‘ख’ बाट निर्वाचित प्रदेश सदस्य अब्दुल कलाम आजाद (फूलबाबु) को घरमा पीडित र पीडक पक्षलगायत स्थानीय जनप्रतिनिधिसमेत बसेर घटना मिलाउन प्रयास गरे पनि पीडितले नमानेपछि सार्वजनिक भएको थियो ।
न्यायको अवसान
बलात्कारका घटनाले एकपछि अर्को गर्दै दर्दनाक रुप लिइरहेका छन् तर न सरकार न त सांसदहरु नै बलात्कारीलाई कठोर सजाय हुने गरी कानुन निर्माण गर्न मौनता साँधिरहेका छन् । घटना भएका बेला बलात्कारीलाई जन्मकैदसम्मको सजाय हुनुपर्ने माग सर्वत्र उठ्ने गरे पनि समय बित्दै जाँदा आवाज पनि सुस्त बन्दै जान्छन् ।
बलात्कारीलाई कारबाही गर्न अहिलेसम्मका कुनै पनि सरकार किन गम्भीर बन्न सकेनन् ? निर्मला र सम्झनाहरुलाई न्यान दिन वर्तमान सरकार किन सकिरहेको छैन ? यति गम्भीर घटनाका विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका सांसदसमेत किन चुइँक्क बोल्दैनन् ? दलका महिला नेतृहरुलाई आवाज बुलन्द पार्न केले रोकिरहेको छ ? यतिबेला सचेत नागरिक र अधिकारकर्मीहरु कहाँ छन् ? आम नागरिकले लगातार गरिरहेका प्रश्न हुन् यी ।
प्रकाशित समय १८:५३ बजे

















