गृहपृष्ठ चुरेका पहिरो पीडित जंगलमा अलपत्र, केन्द्रको मुख ताक्दै स्थानीय तह (तस्बिरहरुसहित)
चुरेका पहिरो पीडित जंगलमा अलपत्र, केन्द्रको मुख ताक्दै स्थानीय तह (तस्बिरहरुसहित)
असारमा गएको पहिरोका कारण विस्थापित भएका चुरेबासीको पाँच महिनासम्म व्यवस्थापन हुन नसकेपछि जंगलमा बास भएको छ । पहिरोबाट विस्तापित भएका कैलालीको चुरे गाउँपालिकाबासी स्थानीय विद्यालयमा बस्दै आएका थिए । लकडाउन खुलेसँगै विद्यालय सञ्चालन भएपछि उनीहरुको बास जंगलमा भएको छ । चिसो मौसममा जंगलको बास हुँदा दैनिकी कष्टकर बनेको उनीहरुले बताएका छन् ।
कैलालीको चुरे गाउँपालिका १ देखि ६ नम्बर वडासम्म पहिरोले प्रभावित पारेको छ । पहिरोबाट ६ वटा वडाका २११ घरपरिवार विस्थापित भएर कोही स्थानीय विद्यालयमा त कोही सडक छेउमा त्रिपाल हालेर बस्दै आएका थिए । पहिरोबाट प्रभावित बनेका चुरेबासीले एक थान त्रिपालबाहेक सरकारबाट केही पाएनन् ।
पाँच महिनासम्म कुनै व्यवस्थापन नगरी स्थानीय तहले उनीहरुलाई वैकल्पिक जमिन तोकिदियो । चार ठाउँमा बस्न सक्ने गरी चुरे गाउँपालिकाले जमिन तोकेको थियो । त्यससँगै चुरे गाउँपालिका ४ मा पर्ने टाँकगडा क्षेत्रमा बसोबासका लागि उनीहरु झरेका हुन् । सो क्षेत्रमा संरचना बनाएर बसोबास सुरु गर्न झरेका पहिरो पीडितलाई आफ्नो क्षत्राधिकार पर्ने भन्दै पशुपति सामुदायिक वनले बस्न नदिएपछि गौरिगंगा नगरपालिका १ स्थित जंगलमा त्रिपाल टाँग्न बाध्य भएका हुन् ।
छनोट गरिएका सबै स्थानभन्दा उपयुक्त टाँकगडा भए पनि त्यो क्षेत्र अर्को स्थानीय तहको भएको पहिरो पीडित रणवीर धामीले बताए । पहिले बसेको ठाउँ छोडेर यहाँ आउँदा जंगलमा बास बस्नुपरेको पीडा उनले सुनाए । ‘कति राम्रो घरबारी थियो, पहिरोले उजाडिदियो,’ उनले भने, ‘अहिले स्थानीय सरकारको भर पर्दा जंगलमा बास बस्नुपरेको छ ।’
उनीहरु पाँच महिनादेखि खानीडाँडाको सडक किनारामा बस्दै आएका छन् । अर्का पीडित करे धामीले भने, ‘साउन १७ गतेदेखि गाउँपालिकाले नै सडक किनारमा बस्न अनुमति दियो, अहिलेसम्म केही बन्दोबस्त नभएपछि उसैले रोजेको विकल्पका आधारमा टाँकगडा जान हिँडेका हामी बीच बाटोमै अलपत्र भयौँ ।’
पाँच महिनादेखि सडक छेउको त्रिपालमा बस्दै आएका उनीहरू गाउँपालिकाले सिफारिस गरेको क्षेत्रमा जाँदै गर्दा बीच बाटोमै अलपत्र परेका हुन् । चुरेको वडा नम्बर ४, ५ र ६ को तल्लो सिमलगैरा, मल्लो सिमलगैरा, गुँडी, राजवन, गौजना, तितिरेलगायत बस्तीका पहिरो पीडित शुक्रबार राति यहाँ झरेका हुन् । चुरेबाट अत्तरिया हुँदै बसमार्फत चौमाला पुगेका उनीहरू वन क्षेत्रमा बसेका छन् ।
पीडित टीकादेवी बुढाले जंगलमा बस्नुपर्दा बालबालिकालाई चिसोबाट जोगाउनै मुस्किल परेको बताइन् । ‘न खानेपानी पाइन्छ,’ उनले भनिन्, ‘भएको खाद्यान्न पहिरोले बगाइदियो, अब यहाँ के खाने, के लाउने केही ठेगान छैन ।’
पीडित सुवित्रा कार्कीले पनि जंगलको बास कष्टकर बनेको बताइन् । सरकारले कुनै व्यवस्थापन नगरे आफूहरुले पनि सडक जाम गर्नुपर्ने अवस्था आउने उनको चेतावनी छ ।
असोज १५ गते चुरे गाउँपालिकाको कार्यपालिका बैठकले पहिरो पीडित परिवारलाई बसोबासका लागि टाँकगडालगायतका क्षेत्रमा पुनःस्थापना गराउन सिफारिस गरेको थियो । ‘गाउँपालिकाले आफूहरूलाई टाँकगडा भन्ने स्थानमा छनोट गरेर बसोबासका लागि सिफारिस गरेको थियो,’ पहिरो पीडित संघर्ष समितिका अध्यक्ष टीकाराम कार्कीले भने, ‘गाउँपालिकाले टाँकगडा सिफारिस ग¥यो तर त्यो जमिन त अर्कै स्थानीय तहको रहेछ, अहिले आएर हामीलाई यता न उताको बनाइदियो ।’
घरवारविहीन परिवारलाई स्थानीय सरकारले केही समयका लागि भन्दै विद्यालय र भीमदत्त राजमार्गको सडक किनारमा टेन्ट दिएर अस्थायी बसोबासको व्यवस्था मिलाएको थियो । चुरे गाउँपालिकाकी उपाध्यक्ष दीपादेवी साउदले पहिरो पीडितहरू टाँकगडा गएको वडाध्यक्षले फोनमार्फत जानकारी दिएको बताइन् । पहिरो पीडितको व्यवस्थापनका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिरहेका छौँ ।
प्रकाशित समय ११:२४ बजे
























