गृहपृष्ठ निर्मला हत्या प्रकरण : छानबिन गर्न उच्चस्तरीय समिति गठन

निर्मला हत्या प्रकरण : छानबिन गर्न उच्चस्तरीय समिति गठन

kanchanpur-newskarobar फाइल तस्बिर

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । निर्दोषलाई पक्राउ गरेर वास्तविक हत्यारालाई जोगाउन खोजेको भन्दै आन्दोलन चर्किएपछि सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको हो ।

गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जाननकारी दिए । गृहमन्त्रालयले निर्मला हत्याको दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । छानबिनमा संलग्न पनि दोषी पाइए कारबाही गर्ने गृहले चेतावनी दिएको छ ।

हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै स्थानीयले गरेको आन्दोलन उग्र भएको छ । प्रदर्शनकारी र प्रहरीबीच पटक पटक झडप भएको छ । प्रहरीले स्थितिलाई नियन्त्रण गर्न गोली र अश्रुग्यास समेत प्रहार गरेको छ । गोली लागेर बिहिबार १० जना घाइते भएका छन् ।

महेन्द्रनगरमा आन्दोलन चर्किएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यू आदेश जारी गरेको छ । प्रशासनले बिहिबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेको हो ।

यसैबीच, गृह मन्त्रालयले कन्चनपुरको प्रहरी प्रमुखमा कुवेर कठायत र प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई पठाएको छ । तारानाथ अधिकारी केही समय अघिमात्र कास्कीको सिडियोबाट कारागार विभागमा सरुवा भएका थिए । कठायत यसअघि महोत्तरीका प्रमुख थिए ।

प्रकाशित समय ०७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु