गृहपृष्ठ ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ घोषणा

‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ घोषणा

bijaya-babu2

सडक दुर्घटनामा दिवंगत पत्रकार विजयबाबु खत्रीको स्मृतिमा ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ घोषणा भएको छ । विजयबाबुको सातौं स्मृति दिवसमा नेपाल समाचार केन्द्रकी अध्यक्ष लक्ष्मी श्रेष्ठले ३४ हजार रुपैयाँ राशिको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ घोषणा गरेकी हुन् ।

पुरस्कारका लागि श्रेष्ठले ३ लाख ५० हजार रुपैयाँको कोष स्थापना गरेकी छन् । कोषको संरक्षक नेपाल समाचार केन्द्र रहेछ । कोषमा रहेको रकमको ब्याजबाट बर्सेनि पत्रकारिता पुरस्कार प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । ‘दुर्घटना हुँदा उहाँ ३४ वर्षको हुनुहुन्थ्यो, त्यसैले पुरस्कारको राशि पनि ३४ हजार रुपैयाँ तोकिएको हो,’ विजयबाबुकी श्रीमती श्रेष्ठले भनिन्, ‘अक्षयकोषको रकम र पुरस्कारको राशि बर्सेनि बढाउँदै लगिनेछ ।’

bijaya-babu3

२०७६ साल मंसिर १२ गतेबाट हरेक वर्ष एकजना पत्रकारलाई यो पुरस्कार प्रदान गरिनेछ । ‘मुलुकको आर्थिक समृद्धि, जनजीविका र अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानीका लागि उत्साहित गराउने गरी कलम चलाउने पत्रकारलाई यो पुरस्कार प्रदान गरिनेछ,’ न्युज कारोबारको कर्पोरेट कार्यालय मध्यबानेश्वरमा बुधबार आयोजित नेपाल समाचार केन्द्रकी अध्यक्ष श्रेष्ठले भनिन् । पुरस्कार वितरणका लागि नेपाल पत्रकार महासंघ, न्युुज कारोबार र एकजना वरिष्ठ पत्रकार रहनेगरी छनोट समिति गठन गरिनेछ ।

त्यसै गरी कार्यक्रममा न्युज कारोबार डटकमका निर्देशक सुरज घिमिरेले नेपालको पत्रकारीता क्षेत्रमा विजयबाबु पत्रकारिता पुरस्कारले कुशल पत्रकारहरूलार्इ प्राेत्साहित गर्ने विश्वास व्यक्त गरे ।

नेपालमा आर्थिक पत्रकारिताको बाटो खन्ने काममा पत्रकार विजयबाबु खत्रीको योगदान महत्वपूर्ण र अविष्मरणीय रहेको अग्रज पत्रकार तथा उद्योगी बताउँछन् । कारोबार राष्ट्रिय दैनिक पनि विजयबाबुकै अग्रसरतामा प्रकाशनमा आएको हो । आर्थिक पत्रकारितामा विजयबाबुको योगदानलाई स्मरणमा राख्न र जुझारु पत्रकारलाई प्रोत्साहन गर्न ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ महत्वपूर्ण हुने न्युज कारोबारका सम्पादक डीआर आचार्यले बताए ।

bijaya-babu

नेपाल पत्रकार महासंघले विजयबाबु स्मृति पत्रकारिता पुरस्कार घोषणाको सराहना गरेको छ । महासंघका अध्यक्ष आचार्यले विजयबाबुकी श्रीमतीको एकल प्रयासमा यति ठूलो पुरस्कार घोषणा हुनु पत्रकारिता जगतकै लागि प्रेरणादायी कुरा भएको बताए । ‘यसमा पत्रकार महासंघको सधैं उच्च सहयोग रहनेछ,’ उनले भने, ‘यो पुरस्कारले स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्ने पत्रकारलाई थप प्रोत्साहित गर्ने हाम्रो विश्वास छ ।’

कारोबार दैनिकको ब्रान्डिङका लागि देशव्यापी यात्रामा निस्केका बेला रुपन्देहीको सालझन्डीमा सवारी दुर्घटनामा परी २०६८ साल मंसिर १२ गते विजयबाबुको निधन भएको थियो ।

प्रकाशित समय १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु